Aamsanchar

वैवाहिक जीवन सुखमय बनाउने सुत्र

Author Image
शनिवार, पौष १०, २०७८

‘हरेक जोडीमा उतार–चढाव हुन्छ, हरेक जोडीमा बहस हुन्छ र यही कारण त तपाईं जोडी हो र कुनै पनि जोडी विश्वास बिना चल्न सक्दैनन् ।’

अमेरिकी उपन्यासकार निकोलस स्पाक्र्सले आफ्नो लोकप्रिय उपन्यास ‘एट फस्ट साइट’मा जोडीमाथि गरेको टिप्पणी हो यो । उनले भनेझै निसन्देहः ‘विश्वास’ सम्बन्धलाई बलियो र स्वस्थ बनाउने सबैभन्दा ठूलो हतियार हो, यो बिना सम्बन्ध टिकिरहन सक्दैन ।

हामीकहाँ मंसिर ‘बिहेको महिना’ अर्थात् ‘बिहेको मौसम’का रुपमा प्रख्यात छ । यो महिना जोडी बाँध्न खोज्नेहरुका लागि साइतको खडेरी हुँदैन । तर, दुई मनको मिलन हुनु मात्र ठूलो कुरा होइन, दुई मनले निरन्तरता पाउनु र खुसियालीपूर्वक जीवन बिताउनु पनि उति नै महŒवपूर्ण हुन्छ ।

सम्बन्धलाई बलियो र सुखद् बनाइराख्न के–के आवश्यक पर्ने रहेछ रु नवजोडीहरुका लागि सुझावस्वरुप केही उदाहरणीय सेलिब्रिटी जोडीसँग जिज्ञासा राख्दा अधिकांशले ‘प्रेम, प्रेम र प्रेम’ भन्न छुटाएनन् तर त्यति मात्र भनेनन् ।

  • सम्बन्ध बलियो बनाउन समझदारी सबैभन्दा ठूलो आवश्यकता हो । जोडीबीच एक–अर्काको कमजोरी बुझ्न सक्नुपर्छ । मान्छेको रिसाउनु त मानवीय स्वभाव नै हो तर यसलाई ठूलो इस्यु बनाउनुहुँदैन ।’
    – गायिका रजिना रिमाल

फिल्म क्षेत्रका उदाहरण जोडी निर्देशक ऋषि लामिछाने र सरीता लामिछानेले बिहेको २० औं वर्षगाँठ मनाइसके । सफल दाम्पत्यसम्बन्धी उनीहरूको एउटै सूत्र छ– निःशर्त प्रेम र पाइला–पाइलामा सहकार्य । जतिबेला महिलालाई फिल्म क्षेत्रमा प्रवेश गराउने भनेपछि मान्छेहरु परैबाट नाक खुम्च्याउँथे त्यतिखेर ऋषिले आफ्नी श्रीमतीलाई ‘हिरोइन’ बन्न अनुमति दिएका थिए । आज पनि घरको कामदेखि बाहिरसम्म उनीहरु निरन्तर सहकार्य गरिरहेका हुन्छन् । ‘जीवनमा बढी महत्वाकांक्षी हुनुहुँदैन,’ नयाँ जोडीलाई सरिता आफ्नो अनुभवमार्फत सुझाउँछिन्, ‘हामीले आफ्नो क्षमताअनुसार चल्न सिक्नुपर्छ । म र ऋषिको हकमा पनि हामी दुवैले देख्ने सपना सधैँ एउटै भयो । त्यसैले हाम्रो जीवन सुखी छ ।’ उनीहरु आफ्नो जोडीलाई ‘बफादार’ ठान्छन् । ‘हामी देश, समाज र संस्कारप्रति बफादार रहेको जोडी हौँ,’ ऋषिले भने, ‘हामी दुवै भावुक छौँ । कसैको सानो पीडामा रुन्छौँ । स–सानो कुरामा खुसी खोजिरहेका हुन्छौँ । हामी चेतनशील पनि छौँ र मलाई लाग्छ हर असल जोडीमा यी गुण हुनु पर्छ ।’

तीन वर्षअघिसम्म अभिनेता राजेश हमाललाई सताइरहने प्रश्न थियो– बिहे कहिले गर्ने रु विराटनगरकी मधु भट्टराईसँग लगनगाँठो कसेपछि उनले यो प्रश्नबाट छुटकारा पाए । मधुले आफ्नो जीवनमा मिठास घोलिदिएको बताउने उनी थुप्रै कार्यक्रममा मधुसँगै पुगिरहेका हुन्छन् । उनीहरु दुवैको नजरमा सम्बन्धलाई टिकाइराख्ने र बलियो बनाउने कडी भनेको समझदारी हो । ‘हामी दुवै फरक–फरक विचारका मान्छे हौँ,’ राजेशले भने, ‘सबै कुरा नमिल्न सक्छ । त्यही पनि हामी सँगै छौँ भनेपछि हामीबीच समझदारी छ, विश्वास छ ।’ मधुले त्यसमै थप्छिन्, ‘प्रेम पनि त छ । सम्बन्धमा यी कुरा त हुनैपर्छ ।’ आफूहरूको जोडीलाई उनीहरु ‘कन्टेन्ट’ जोडी भन्न रुचाउँछन् । ‘हामी जे छ, त्यसमै रमाउँछौँ, शतप्रतिशत सन्तुष्ट छौं,’ मधुले भनिन् । त्यसपछि राजेशले भने, ‘मधुले मेरो जिन्दगीमा मिठास घोलिदिइन् ।’ उनले यसो भनिरहँदा मधुको अनुहार दोब्बर चम्किलो भएको थियो ।

र्यापर गिरीश खतिवडा र डाक्टर ज्योति रानाभाट अर्को यस्तो जोडी हो जो सहकार्यमा विश्वास गर्छ तर कामको विभाजनमा होइन । कसरी त रु ‘लोग्ने मान्छे कस्तो हुनुपर्छ, स्वास्नी मान्छे कस्तो हुनुपर्छ, हामीलाई यसको परिभाषा थाहा छैन,’ गिरीश भन्छन्, ‘घरमा म मज्जाले भाडा माझ्छु । बच्चा सुताउनु सबैभन्दा टेन्सन काम हुन्छ । ज्योतिले गेम देखाएर हुन्छ कि के गरेर हुन्छ बच्चा सुताउने काम गर्छिन् । हामी घरमा जसले जे भ्यायो, त्यो गर्छौं । पूजा गर्नेदेखि चिया पकाउने, पाहुनालाई सत्कार गर्ने सबै काममा सहकार्य गर्छौं ।’ घरमा परम्परागत सोचलाई यथावत् राखेर बाहिर ठूल्ठूलो स्वरमा गीत गाउनु उनी ठीक मान्दैनन् । ‘परिवर्तन त सबैभन्दा पहिला आफूबाटै हुनुपर्यो नि, त्यसपछि पो परिवर्तनको प्रयास गर्न सुहाउँछ त,’ उनी भन्छन्, ‘म त मेरो र ज्योतिको जोडी विशुद्ध आधुनिक मान्छु । श्रीमतीलाई कहीँकतै पार्टीमा लाँदाखेरी आफूले मात्र होइन, श्रीमतीलाई पनि वाइन खान दिनुपर्छ भन्ने मान्यता राख्छु ।’

उनीहरु आफ्नो जोडीलाई ‘रिल्याक्स जोडी’ भन्न रुचाउँछन् । गिरीश भन्छन्, ‘हाम्रो जीवनमा कुनै परिभाषा छैन । कुनै परिबन्ध छैन । हामी रिल्याक्स जोडी हौँ । एकअर्काप्रति पूर्ण विश्वासहित बाँचेका छौँ ।’ गिरीशकै भनाइमा ज्योतिले थपिदिइन्, ‘सम्बन्धलाई बलियो बनाउनलाई दुवैजना उत्तिकै इफोर्ट लगाउन आवश्यक हुन्छ । सधैँ आफ्नो मात्र लाद्न खोज्नुहुँदैन, अर्कोको कुरा पनि सुन्नुपर्छ । सम्बन्धमा समझदारी सबैभन्दा ठूलो कुरा हो, त्यो हामीमा छ र अरुमा पनि हुनुपर्छ भन्ने लाग्छ ।’
आफूलाई ‘सिम्पल र प्राक्टिकल’ भन्न रुचाउने प्रमोद र दीपा खरेलको जोडी तडकभडकमा विश्वास राख्दैन । सात वर्षअघि बिहे बन्धनमा बाँधिएका उनीहरु एक–अर्काको भूमिकालाई इमान्दारसाथ स्वीकार्न तयार हुन्छन् । ‘मेरो जिन्दगीमा दीपा नभएको भए म आज यहाँसम्म आइपुग्थिनँ सायद । संघर्षको समयमा उनले मेरो साथ दिइन्,’ प्रमोद भन्छन्, ‘जतिबेला उनी मेरो जिन्दगीमा आइन्, त्यतिखेर म डेरामा बस्थेँ । अहिले डेराबाट घरमा सरिसकेँ ।’ ललितपुर, हात्तीवनमा प्रमोद–दीपाको अढाई तले आफ्नै घर छ । ‘हामी देखावटी जोडी होइनौँ,’ प्रमोदले भने, ‘एकदम नेचुरल जोडी हौँ । ग्रासरुटबाट आएकाले होला हामी तडकभडक गर्न रुचाउँदैनौँ । हाम्रो जीवन एकदमै सामान्य छ । हामी प्राक्टिकल छौँ र नवजोडीहरुले पनि यो कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।’

सहकार्यका साथ अघि बढिरहेको अर्को जोडी गायिका रजिना रिमाल र व्यवसायी विनोद श्रेष्ठको पनि हो । विनोद काठमाडौंमा प्रख्यात श्रेष्ठ टेलरिङका सञ्चालक हुन् । रजिना गीतमात्रै गाउँदिनन्, उनको टेलरिङमा अकाउन्ट हेर्न पनि सघाउँछिन् । त्यसो त रजिनालाई गायनमा सक्रिय राख्न विनोदले हौसला पनि दिइरहेका हुन्छन् । दुई वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीको प्रेम र सहकार्य लोभलाग्दो छ । ‘सम्बन्ध बलियो बनाउन समझदारी सबैभन्दा ठूलो आवश्यकता हो भन्ने लागिरा’छ,’ रजिना भन्छिन्, ‘जोडीबीच एक–अर्काको कमजोरी बुझ्न सक्नुपर्छ । मान्छेको रिसाउनु त मानवीय स्वभाव नै हो तर यसलाई ठूलो इस्यु बनाउनुहुँदैन ।’ आफूहरुको ‘अन्तरजातीय बिहे’लाई भगवानको कृपा मान्छन् विनोद, भन्छन्, ‘हामी दुवैको जात फरक–फरक भए पनि हामीले एक–अर्काको संस्कारलाई स्वीकारेका छौं । त्यसैले मलाई लाग्छ हाम्रो जोडी एउटा बुझ्झक्की जोडी हो ।’
अभिनेत्री झरना थापा र निर्माता सुनील थापा दुईबाट एक भएको २२ वर्ष भइसक्यो । उनीहरुको अनुभवमा पनि सम्बन्धलाई बलियो बनाउने सबैभन्दा ठूलो हतियार भनेको एर्काबीच समझदारी र विश्वास नै हो । ‘एकअर्कालाई बुझ्नुपर्छ, साथसाथ हिँड्न सक्नुपर्छ, अनि सम्बन्ध राम्रो हुन्छ,’ सुनिल भन्छन् । झरना त्यसमै थप्छिन् र नयाँ जोडीहरुका लागि टिप्स पनि दिन्छिन्, ‘सायद हामी सफल हुनुको कारण पनि यही नै हो । एकअर्कामा ‘कम्प्रोमाइज’ पनि गर्न सक्नुपर्छ । एकअर्काको नराम्रो बानी र कमी–कमजोरीलाई पनि माया गर्न जान्नुपर्छ, माफी दिन सक्नुपर्छ अनि मात्र सम्बन्ध टिकिरहन्छ ।’
‘परिवार महत्वपूर्ण कुरा मात्र होइन, यो त सबथोक हो,’ हलिउड अभिनेता माइकल जे। फक्सले परिवारबारे गरेको टिप्पणी हो यो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ तर मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।

अभिनेत्री करिश्मा मानन्धर पनि सम्बन्ध बलियो बनाइराख्न प्रेम र विश्वास अपरिहार्य ठान्छिन् । उनले विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । ‘सम्बन्ध बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छौं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’

लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । उनलाई पनि आफ्नो जोडीमा कुनै खटपट नआउनुको कारण प्रेम र विश्वास भन्ने नै लाग्छ । ‘हाम्रो जोडी विश्वास, प्रेम र कर्मका आधारमा टिकेको हो,’ उनले भने, ‘कहिलेकाहीँ म नेपालमै हुँदा पनि एक महिनापछि मात्र भेट हुन्छ । कहिलेकाहीँ त एक हप्तासम्म पनि फोन हुँदैन । तैपनि, हामीबीच समझदारी छ, विश्वास छ । यही कारण हाम्रो जोडी मजबुत छ ।’

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल संगीत क्षेत्रका लोकप्रिय जोडी हुन् । १० वर्ष भइसक्यो उनीहरु जोडी भएको । सम्बन्धलाई बलियो बनाउन श्रीमान्–श्रीमती दुवै आत्मनिर्भर हुँदा फाइदा पुग्ने उनीहरुको अनुभव छ । ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो सम्बन्ध बलियो हुनुको अर्को कारण यो पनि हो,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन रु त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’

यता अभिनेता मदनकृष्ण श्रेष्ठ सम्बन्ध बलियो बनाउन आर्थिक पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘जथाभावी खर्च गर्दा परिवारलाई फाइदा पुर्याउँदैन,’ उनी भन्छन्, ‘क्षमताअनुसार पैसा खर्च गर्नुपर्छ । आर्थिक व्यवस्थापनमा ध्यान दिँदा आफू पनि उक्सिइन्छ, परिवार पनि उक्सिन्छ ।’

  • ‘परिवारमा बाहिरको काम गर्ने चाहिँ ठूलो, घरको काम गर्ने चाहिँ सानो भन्ने हुँदैन । बाहिरको भन्दा घरको काम गर्नेको योगदान परिवारका लागि ठूलो हुन सक्छ । त्यसैले दुवैलाई बराबर सम्मान हुनुपर्यो ।’
    –शिक्षाविद् केदारभक्त माथेमा

त्यसो त घरमा जागिर नगरेर घरको काम मात्र गर्नेहरुको योगदान पनि जागिरेहरुको भन्दा कुनै कम हुँदैन । शिक्षाविद् केदारभक्त माथेमाको तर्कले यसै भन्छ, ‘परिवारमा बाहिरको काम गर्ने चाहिँ ठूलो, घरको काम गर्ने चाहिँ सानो भन्ने हुँदैन । बाहिरको भन्दा घरको काम गर्नेको योगदान परिवारका लागि ठूलो हुन सक्छ । त्यसैले दुवैलाई बराबर सम्मान हुनुपर्यो ।’

शिक्षाविद् केदारभक्त माथेमा महत्वाकांक्षाले सम्बन्धलाई फाइदा नपुर्याउने बताउँछन् । ‘परिवारभित्र हाम्रो उद्देश्य भनेको बिल गेट्स हुने अर्थात् धनाढ्य हुने भन्ने हुनुभएन,’ उनी भन्छन्, ‘यस्ता महत्वाकांक्षा र पैसाको प्यासले परिवारको खुसीमा हानि पुर्याउँछ । सम्बन्धमा असर पुग्न सक्छ ।’ ४३ वर्षअघि बिहे गरेका उनी आफ्नो परिवारमा सबैजना शिक्षित भएकाले पनि परिवार बलियो बन्न मद्दत पुगेको बताउँछन् । ‘परिवार पनि लोकतान्त्रिक संस्था हो,’ उनी भन्छन्, ‘एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।’

साभार : नागरिक

प्रतिक्रिया (०)

सम्बन्धित खबर