Aamsanchar

मघे संक्रान्तिको अनेक नाम, धार्मिक वैज्ञानिक महत्व यस्तो

Author Image
शनिवार, माघ १, २०७८

१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ ।

आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । सनातन संस्कारमा तिलको विशेष महत्त्व छ, चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवान कालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो, त्यसै कारणले पनि माघे सङ्क्रान्ति लाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात् उत्तरी र दक्षिणी ध्रुवका बारेमा हामीले भूगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन् त रु के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?

तरुल, सखरखण्ड, पिँडालु उसिन्न बाँकी नै छ कि भ्याइयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसँग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलित छ, खिचडी के चार यार, दही पापड घी आ अचारू । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरू हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यी कुराहरू कि अन्य कुराहरूसँग खिचडी तात्तातो खाने सोचमा हुनुहुन्छ ?

जाडोको समयको यो न्यानो चाड माघे सङ्क्रान्तिले दैलोमा ढकढक्यायो । बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा , ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्म रोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।

मधेसमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन येले दुगंका रूपमा लगभग नयाँ वर्षका रूपमा मनाइन्छ । आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि ुनिसराउु अर्थात् उपहारहरू दिएर पठाउने चलन छ ।

नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटीहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।

मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर