Aamsanchar

झापाको राजगढ बजारमा नि:शुल्क सेलरोटी खुवाएर मनाइयो माघे संंक्रान्ति

Author Image
शनिवार, माघ १, २०७८

झापा।   आज मकर संंक्रान्तिको अबसर पारेर झापाको बाह्रदशी गाउँपालिका राजगढ बजारमा निशुल्क  सेलरोटी खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चेतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा माघ १ गते अर्थात माघे संंक्रान्तिको अवसरमा ‘सेलरोटी महोत्सव’को आयोजना गरेर सर्वसाधारण हरुलाई सेलरोटी खुवाइएको थियो ।

बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघ संस्थाको सहभागीतामा आयोजित सेलरोटी महोत्सवमा सहभागी सबैलाई सेलरोटी खान दिइएको थियो ।

संस्कार संस्कृतिको संरक्षण र सम्वद्धन गर्ने उद्देश्यले पूर्वमै पहिलो पटक सेलरोटी महोत्सवको आयोजना गरिएको जनचेतना मूल कृषक समूह बाह्रदशीका अध्यक्ष पुण्य ढुङ्गेलले बताउनुभयो ।

गाउँपालिका भित्र सञ्चालनमा रहेका विभिन्न कृषक समूहमा आवद्ध सदस्यहरु सेलरोटी महोत्सवमा स्वतस्फूर्त रुपमा सहभागी भएका थिए । राजगढ बजार परिसरमा आयोजित महोत्सवमा झण्डै तीन हजार भन्दा धेरै मानिस सहभागी हुँदै माघे संंक्रान्ति र सेलरोटी महोत्सवको विषयमा जानकारी लिएका थिए । वजार परिसरमा विहानैबाट सेलरोटी पकाउन शुरु गरेका महिलाहरुले दिनभरजसो सेलरोटी पकाउँदै आएका सबै जनालाई सेलरोटी खान दिएका थिए ।

सेलरोटी महोत्सवको आयोजनाले आफ्ना भावी पिढीले समेत यसको महत्व वुझ्ने र अन्य समुदायलाई समेत सेलरोटीका विषयमा थाहा हुने भएकाले महोत्सव आयोजना गरिएको पाथीभरा चतनशील महिला समूहकी अध्यक्ष शान्ता खरेलले बताउनुभयो ।

हिन्दूधर्मावलम्बीहरुले तिहार या त पितृ वा देवोकार्यमा मात्रै पकाउँदै आएको सेलरोटी राजगढ बजार परिसरमा महोत्सवकै रुप दिँदै भावी पिँढीलाई समेत सेलरोटीका विषयमा जानकारी दिनुले सन्तान दरसन्तानमा समेत संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास शिक्षा सेवीहरुको गंगाप्रसाद अधिकारीको भनाई छ ।

यता अर्का शिक्षा सेवी नन्दकुमार कुँवर भन्नुहुन्छ – यसखाले महोत्सवले पुरातन संस्कार र संस्कृतिको संरक्षण मात्र नभई भावी पुस्तालाई समेत यसले फाइदा पुग्छ । त्यसो त विभिन्न जात जाति र समुदायले आ– आफ्नै संस्कार र संस्कृति झल्कने विभिन्न खाले महोत्वसको आयोजना गरिरहेका बेला माघ १ गते अर्थात माघे संक्रान्तिका दिन बाह्रदशी गाउँपालिकावासीले सेलरोटी महोत्सवको आयोजना गरेर जातिय परिकारको संरक्षण र सम्वद्धनका क्षेत्रमा देखाएको अग्रसरता सबैका लागि अनुकरणीय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर