

भक्तपुर । मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट नक्कली सिसिआर रिर्पोट बनाएर रकम असुल गरेको अरोपमा अस्पतालका कर्मचारी र विचौलियाहरु पक्राउ परेका छन् ।
बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचना पाएपछी प्रहरीले छापामार्दा नक्कली सिसिआर रिर्पोट बनाउने धन्दामा लागेका चार जना रंगेहात आज पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान, जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव, जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली र जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।

ठगी धन्दामा लिप्त रहेका दुबै अस्पताल ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी फरार रहेका छन् । पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको प्रहरीले बताएको छ । हाल दुबै अस्पतालका पिसिआर ल्यावहरु सिल गरि पिसिआर सम्बन्धी सबै सेवा बन्द गराईएकोे र अन्य थप अनुसन्धान कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालको ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोईरालाले बताए ।



