मेचीनगर। जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो चरणमा १५ किलोमिटरसम्म निर्माण हुने र बाकी दोस्रो चरणमा सम्पन्न गरिने बताउनुभयो ।
क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ । स्थानीय सरकार मेचीनगर नगरपालिकाको लामो प्रयास पछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु हुन लागेको हो ।
पहिलो चरणमा मेचीनगर— १४ को सीमाक्षेत्रबाट नेपाली सेनाको क्याम्पहुँदै चारआली महेन्द्रराजमार्ग सडकखण्डसम्मको १५ किलोमिटरसम्म ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने छ । यसले हातेमालो,कालिका, वासबारी, मागुमाडी बीट नम्बर १ र २ सामूदायिक बनलाई भेट्ने नगरप्रमुख आचार्यले जानकारी गराउनुभयो ।
मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारका लागि क्षेत्र निर्धारण गर्न ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले तयार गर्ने विस्तृत परियोजना प्रतिवेदन डीपीआरका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग समेत नगरपालिकाले केहीदिनअघि छलफल र अन्तरक्रिया रतथा सुझावलाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने निष्कर्शमा पुगेको थियो । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए सकेकोले अब निर्माण कार्य शुरु हुन लागेको हो।
विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएपनि बाकी काम दोस्रो चरणमा हुने बताइएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि केही दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भेको काम सम्पन्न गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र निर्धारणका लागि ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले सर्भेको जिम्मा पाएको थियो ।
विर्तामोड नगरपालिकाको हरियाली सामुदायिक वन हुँदै मेचीनगरको प्रगति सामुदायिक वन मेचीनगर—१२, हातेमालो सामुदयिक वन मेचीनगर— १४, थोप्लेविराम सामुदायिक वन मेचीनगर— ९, माथिल्लो मागुरमाडी मेचीनगर— ९ को वीट नम्बर १ र २,वासबारी सामुदायिक वन मेचीनगर— ११, कालिका सामुदायिक वन मेचीनगर— १२, आदर्श सामुदायिक वन बुद्घशान्ति —३, नवज्योति सामुदायिक वन वन बुद्घशान्ति, पाचपोखरी सामुदायिक वन बुद्घशान्ति —५, बहुवन सामुदायिक वन मेचीनगर— ३, तेलपानी सामुदायिक वन मेचीनगर—३ को क्षेत्रमा सर्भेको काम सम्पन्न गरेको थियो । वस्ती तथा पर्यटकयि स्थल र सामुदायिक वनका कार्यालयहरुलाई बाहिर पारेर तथा हात्तीका लागि वैकल्पिक बाटो राखेर चुरेक्षेत्रलाई समेत ध्यानमा राखेर निर्माण गरिने प्रमुख आचार्यको भनाई छ ।
नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार छलफलमा सहभागीहरुले हात्तीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न आवश्यक पहलकदमी चाल्नुपर्नेमा जोड दिएका थिए । नगरको अत्यधिक हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा यसअघि हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्रका एकदर्जन गौडामा अपनाइएका अनेकौ“ उपाय असफल भएपछि सरकार सोलार फेन्सिङ निर्माण गरी हात्तीलाई सीमावर्ती क्षेत्रमै रोक्ने निष्कर्षमा पुगेको थियो । ८० देखि ९० प्रतिशत हात्ती आतंक ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले रोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
नगरप्रमुख आचार्यले पछिल्लो समय मेचीनगरवासी जंगली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा सवैपक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । अहिले नगरका ३, ९, ११, १२, १३ र १४ नम्बर वडामा जंगली हात्तीले निक्कै आतंक मच्चयाइरहेका छन् । नगरप्रमुख आचार्यले जंगली हात्तीको क्षति न्यूनिकरण गर्न जिल्लाका विभिन्न स्थानमा गरिएको ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको उदाहरण दिदैं यसले जंगली हात्तीबाट हुने क्षति न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यो योजनालाई सफल बनाउ हरेक क्षेत्र लाग्न समेत नगरप्रमुख आचार्यले आग्रह गर्नुभयो । बनसँग जोडिएका बस्ती बढी प्रभावित भएकाले वनको समेत संरक्षण हुने गरी ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार गर्ने उहाँको भनाई छ ।
छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल, डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत युवराज मास्के, सहायक वन अधिकृत राजन राई, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, मेचीनगर १ का वडाध्यक्ष पासाङ्ग तामाङ, ९ का गोपाल श्रेष्ठ, ११ का सन्तोष मेचे, १३ का कृष्ण सिग्देल, १४ का शंकरप्रसाद पोखरेल, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीलगायतको लगायतको सहभागिता थियो ।