Aamsanchar

नेपाललाई आयरल्यान्डद्वारा १२८ रनको लक्ष्य प्रस्तुत

Author Image
सोमवार, फागुन २, २०७८

काठमाडौं –नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार आयरल्यान्डविरुद्ध १२८ रनको लक्ष्य पाएको छ ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । कप्तानको निर्णयलाई नेपालका बलरले सही सावित गरिदिए । दीपेन्द्रसिंहले चार विकेट लिएपछि आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो ।

नेपालका कमलसिंह ऐरीले पहिलो ओभरको चौथो बलमै पाउल स्टर्लिङको विकेट लिएका थिए । आक्रमक ब्याट्सम्यान स्टर्लिङ दुई रन बनाएर पवेलियन फर्किएका हुन् ।

तेस्रो ओभरको अन्तिम बलमा अर्का तिब्र गतिको बलर जितेन्द्र मुखियाले गारेथ डेलानीलाई ‘कट एन्ड बोल्ड’ गरे । डेलानीले ९ रन बनाए । पाँचौँ ओभरको पाँचौँ बलमा अविनाश बोहराले एन्डी बललिर्नेलाई बोल्ड गरे । कप्तान बलबिर्नेले १९ रन जोडे ।

त्यसपछि नेपालका दीपेन्द्रसिंह ऐरीले लगातार चार विकेट लिएपछि आयरल्यान्ड दबाबमा परेको थियो । दसौँ ओभरको दोस्रो बलमा शेन गेटकाटेलाई आउट गरेका दीपेन्द्रसिंहले १२औँ ओभरमा दुई विकेट लिएका थिए । १२औँ ओभरको पहिलो बलमै कर्टिस चाम्फरलाई आउट गरेको दीपेन्द्र सिंहले चौथो बलमा सिमि सिंहलाई पवेलियनको बाटो देखाए ।

गेटकाटेले १४ रन बनाउँदा चाम्फरले २० र सिंहले १ रन बनाए । दीपेन्द्रसिंहले १६औँ ओभरको अन्तिम बलमा लोर्कान टुकरलाई पवेलियनको बाटो देखाए । टुकरले १५ रन बनाए । दीपेन्द्रले चार ओभरमा २१ रन दिएर चार विकेट लिए । अविनाश बोहराले दुई विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर