Aamsanchar

नयाँ बर्ष, विक्रम सम्वत् के हो ?

Author Image
बिहिवार, वैशाख १, २०७९

सम्पूर्ण नेपालीहरूलाई नव वर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७८ मै छाडेर सकारात्मक उत्साह र उर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।

विक्रम सम्वत् के हो ?
भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्‌को रुपमा विक्रम सम्वत्‌लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरि कुनै तथ्य फेला नभएको हुँदा विक्रम सम्वत्‌को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्‌हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा बिक्रम सम्वत् नेपालको मौलिक सम्वत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो सम्वत्‌लाई अधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेण्डरको रुपमा लिइन्छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ ।

कसरी शुरु भयो विक्रम सम्वत् ?
कसैले विक्रम सम्वत्‌को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देवशमशेरले अधिकारिकता दिई सरकारी सम्वत्‌को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेनवंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम सम्वत् उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम सम्वत् भन्दा अगाडि नेपालमा नेपाल सम्वत् र शक् सम्वत्‌को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।

यो इस्वी सम्वत् भन्दा कति अगाडि छ ?
विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् “ब्म्” भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसैगरी, यो नेपाल सम्वत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक् सम्वत् भन्दा १३५ वर्ष अगाडि , कली सम्वत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी सम्वत् भन्दा ६३६ वर्ष अगाडि छ ।

के नेपालमा विक्रम सम्वत्‌लाई मात्र नयाँ वर्षको रुपमा मनाइन्छ ?
हैन, नेपालमा विक्रम सम्वत् बाहेक जनवरी १ मा अङ्ग्रेजी नव वर्ष, नेपाल सम्वत्‌को नयाँ वर्ष, किराँत तथा थारू समुदायले माघ १ गते मनाउने नयाँ वर्ष र गुरुङ्ग, शेर्पा लगायतका हिमाली र पहाडी समुदायका मानिसहरूले आफ्नो छुट्टै नयाँ वर्ष (ल्होसार) उत्तिकै हर्ष र उत्साहका साथ मनाउँदछन् ।

विक्रम सम्वत्‌लाई चन्द्रमास किन भनिन्छ ?
विक्रम सम्वत्‌का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्रबीचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्रमास भनिएको हो।

चन्द्रमासमा समयलाई कसरी मापन गरिन्छ ?
चन्द्रमा र सूर्यबीचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरि दुईवटा पक्षहरू हुन्छन् । दुईवटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निष्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 595

प्रतिक्रिया (०)

सम्बन्धित खबर