कहिँ कतै कुनै कारण नपरे नरोकिए वा पर नठेलिए आगामी २०७९ साल बैशाख ३० गते वा अबको २६ दिनपछि स्थानीय तहको निर्वाचन हुदैछ् । निर्वाचनको दिनगन्ती शुरु भइसक्दा कुन पार्टीले कुन पार्टीसँग गठबन्धन गर्ने या एक्ला एक्लै निर्वाचनमा जाने यस विषयमा पनि चर्चा हुन थालेको छ । अहिलेको पाँच दलीय गठबन्धन सरकारले निर्वाचनमा पनि यसरी नै गठबन्धन गरेर निर्वाचनमा गयो भने अन्य दलको हविगत के होला ? अहिले सर्वत्र चर्चा छ । धेरैले भन्ने गरेका छन् यदि पाँच दलीय गठबन्धन निर्वाचनमा गईरहदाँ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवस्था मेचीनगरमा के होला ?
स्थानीय तहको निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरुले निर्वाचन लक्षित कार्यक्रमहरु शुरु गरेका छन् । निर्वाचन नजिकिँएसँगै नेताहरु धमाधम गाउँ पस्दैछन् । पार्टी प्रवेशदेखि प्रशिक्षणसम्मका गतिविधि दिनहुँ जसो हुन थालेका छन् । सम्पर्क कार्यालउहरु धमाधम खोल्न थालिएको छ । यतिमात्र होइन प्रमुख दलहरुका नेता कार्यकर्ताहरुमा दल अदल बदलसम्मको शीलशीला समेत शुरु भएको छ । दलका नेताहरुले आ आफ्नै जीत निकाल्ने दाबी समेत गर्न थालेका छन् ।
स्थानीय तहको निर्वाचन हुन अब २६ दिन बाकी छ । झापामा ८ नगरपालिका र ७ गाउँपालिकागरी कुल १५ वटा पालिका छन् । तर, यतिखेर प्रत्येक राजनीतिक दलको नजर भने मेचीनगर नगरपालिकामा केन्द्रीत छ । मेचीनगरको नेतृत्व त्यसमा पनि प्रमुख पदमा बाजी मार्नका लागि हरेक कोणबाट आफुलाई ठुला भन्नेदेखि अन्य राजनीतिक दलहरुले गतिविधि शुरु गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठबन्धनका दलहरु र एमालेको मतान्तर हेर्ने हो भने गठबन्धन दलहरु नै अगाडि देखिन्छन् ।
२०७४ को नगर निर्वाचनमा नगर प्रमुखमा काँग्रेसका विमल आचार्य र उपप्रमुखमा नेकपा एमालेकी मीना पोखरेल उप्रेती विजयी हुनुभएको थियो । तत्कालीन अवस्थामा ७५ हजार मतदाता रहेको मेचीनगरमा अहिले करिब १५ हजार मतदाता संख्या बृद्धि भएर ९० हजार पुगेको छ । नगर प्रमुखमा काँग्रेसका आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद प्रसाईंले १९ हजार १ सय ९२ मत प्राप्त गर्नुभएको थियो । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका हंसलाल राजवंशीले ७ हजार ६ सय ९४, राप्रपाका रमेश दाहालले ८ सय ३, संघीय समाजवादी फोरम नेपालका इन्द्रबहादुर श्रेष्ठले ४ सय ३९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धिमान तामाङले २ सय १९, स्वतन्त्र उम्मेद्वार इन्द्रबहादुर राईले ४ सय ५८ र पनिता ढकालले १ सय १५ मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा नेकपा एमालेकी उम्मेद्वार उप्रेतीले २० हजार १६ मत र निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी दुर्गा खतिवडाले १९ हजार १ सय ६ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रकी इन्दिरा कार्कीले ७ हजार ६ सय ९०, राप्रपाकी सविना बजगार्इंले १ हजार २ सय ३५, संघीय समाजवादी फोरम नेपालकी अग्नीमाया मेचेले ६ सय २६ र स्वतन्त्र उम्मेद्वार दत्ता लिम्बुले ५ सय २४ मत प्राप्त गर्नुभएको थियो ।
पछिल्लो स्थानीय तहको मत परिणामका आधारमा हेर्दा एमाले एक्लैको उम्मेद्वारका तुलनामा सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुको मत तुलनात्मक रुपमा बढी देखिन्छ । एकातिर गठबन्धन र पार्टी विभाजनको अवस्था, अर्कातिर जिल्ला तहसम्मका नेताहरुले धमाधम पार्टी परित्याग गर्नुले अहिले एमालेलाई यो निर्वाचन फलामको चिउरा सरह भएको छ । नेकपा एकीकृत समाजवादीमा रहेका अधिकांश मतदाता २०७४ को नगर निर्वाचनमा नेकपा एमालेमा मत हालेका मतदाता छन् । त्यसैले पनि नेकपा एकीकृत समाजवादी विस्तार हुँदै गर्दा नेकपा एमालेलाई केही क्षति हुने सामान्य आँकलन गर्न सकिन्छ ।
सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले साझा उम्मेद्वार उठाउँदा एमालेको मतको तुलनामा केही बलियो देखिन्छ । नयाँ दलका रुपमा रहेको नेकपा एकीकृत समाजवादीले समेत मेचीनगरका १५ वटै वडामा कमिटी विस्तार गरिसकेको छ भने विभिन्न टोल कमिटी गठनलाई समेत तिब्रता दिएको देखिन्छ । यसले गर्दा पनि एमालेले सोचे अनुसार फल हात पार्न भने गाहे छ । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र एकनाथ ढकालले नेतृत्व गरेको परिवार दलले समेत नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्ने सहमती गरे पनि मेचीनगरमा यस्ले एमालेलाई खासै ठूलो फाइदा नपुग्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेचीनगरका १५ मध्ये नेपाली काँग्रेसले नगरप्रमुख सहित ७ वडा अध्यक्ष, नेकपा एमालेले उपप्रमुख सहित ७ वडा अध्यक्ष र नेकपा माओवादी केन्द्रले एउटा वडा अध्यक्ष जितेको थियो । नेकपा एमालेले ७ वटा वडामा दोस्रो धेरै मत ल्याएको थियो । त्यस्तै नेपाली काँग्रेसले ३ वटा वडामा दोस्रो धेरै मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ४ वटा वडामा दोस्रो धेरै मत ल्याएको थियो ।
नगरका वडा नं. ३ र ११ मा काँग्रेस र माओवादीको मत जोड्दा पनि नेकपा एमालेका उम्मेद्वारले पाएको मत बढी छ । वडा नं. ३ मा एमालेका वडा अध्यक्षमा उम्मेद्वार हर्क बहादुर बस्नेतले १ हजार ४ सय १२ मत ल्याइ विजयी हुनु भएको थियो । उक्त वडा मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वारले ७ सय १८ र काँग्रेसका वडा अध्यक्षका उम्मेद्वारले ५ सय ८८ मत मात्रै प्राप्त गर्नु भएको थियो । काँग्रेस र माओवादीका उम्मेद्वारले ल्याएको मत जोड्दा पनि एमालेका वडा अध्यक्षका उम्मेद्वारले ल्याएको मत १ सय ६ ले बढी थियो ।
त्यस्तै वडा नंं ११ मा पनि माओवादी र काँग्रेसका वडा अध्यक्षले ल्याएको मत जोड्दा पनि एमालेका वडा अध्यक्षका उम्मेद्वारले ल्याएको मत बढी छ । उक्त वडामा एमालेका वडा अध्यक्षका उम्मेद्वार सन्तोसकुमार मेचेले ९ सय ७१ मत ल्याइ विजयी हुनु भएको थियो भने माओवादीका उम्मेद्वार शान्तिराम चिमरियाले ६ सय १ र काँग्रेसका उम्मेद्वार हरिप्रसाद कार्कीले १ सय ८९ मत मात्रै प्राप्त गर्नु भएको थियो । वडा नं. ११ मा राप्रपाका उम्मेद्वार दिपेश राईले ३ सय २० मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. ६ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ्गले २ हजार ७ सय ४८ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने एमालेका वडा अध्यक्षका उम्मेद्वार राजु पोखरेलले २ हजार ७ सय ४६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वडा नं. ७ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार चन्दन मेचेले १ हजार ४ सय ५० मत ल्याइ विजयी हुनु भएको थियो । एमालेका दिनेश राजबंशीले १ हजार ४ सय ४४ मत प्राप्त गर्नु भएको थियो । वडा नं. ७ मा राप्रपाका चन्द्रप्रसाद निरौलाले ७ सय १८ मत प्राप्त गर्नु भएको थियो । वडा नं. १५ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार गुणराज भट्टराईले १ हजार ३३ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने एमालेका उम्मेद्वार चेतराज बिष्टले १ हजार २७ मत प्राप्त गर्नु भएको थियो । वडा नंं १५ मा राप्रपाका इन्द्रबहादुर थापाले २ सय ३ मत प्राप्त गर्नु भएको थियो । मेचीनगरमा नयाँ थपिएका करिब १५ हजार मतदाताहरु निर्णायक बन्न सक्ने देखिन्छ । लेखक उप्रेती प्रेस क्लव मेचीनगरका अध्यक्ष हुन् ।