Aamsanchar

२०७२ महाभूकम्पलाई सम्झिदा

Author Image
सोमवार, वैशाख १२, २०७९

२०७२ वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम संवत् २०७२ सालको भूकम्पको सातौँ वर्ष पुगेको दिन हो, आज ।

२०७२ को महाभूकम्पमा जनधनको क्षती
भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरू उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।

हजारौँको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अनि मानवको सम्बन्ध र घरका तल्ला होइन मनको सन्तोषले गरेको थियो । अझ ७ वर्षसम्म पनि पूरा नभएका पुनः उस्तै संरचना अनि निर्माणको बेथिति देख्दा भने हामीले कति सजिलै अनि छिट्टै महाभूकम्पलाई भुल्यौँ भन्ने पनि भान हुन्छ । भूकम्पको नाश, वियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्न जरुरी देखिन्छ ।

२०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।

काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । करिब ७ वर्षपछि वर्ष २०७९ मा आइपुग्दा काष्ठमण्डप र धरहरा फेरि उभिएको देख्न सकिने भएको छ । दरबार स्क्वायरहरु अब फेरि उभिएको देखिन थालेको छ ।

भूकम्पबाट हामीले सिक्नु पर्ने पाठहरू के के हुन् ?
नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भए पनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाइ अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।

स्मरण रहोस्, जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । आजको दिनमा ती ज्ञात–अज्ञात मृत आत्माहरूलाई पनि श्रद्धा सुमन अर्पण गर्न चाह्यौँ, जसले भूकम्पमा ज्यान गुमाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 552

प्रतिक्रिया (०)

सम्बन्धित खबर