Aamsanchar

झापा : ३ स्थानीय तहमा रोचक गठबन्धन, कतै कांग्रेस-एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

Author Image
शुक्रवार, वैशाख २३, २०७९

झापा – १५ पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । ‘अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो’, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, ‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो ।’

कचनकबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन् । सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बनेका छन् ।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ । कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए ।

एमालेले दुवैैलाई सोही पदमा दोहो¥याएको छ । कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाएका छन् ।

थापाको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ । गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार हुनुहुन्छ । विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ । एमाले एक्लै चुनावी मैदानमा छ । दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् ।

एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । राप्रपासहितको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र संलग्न छ । जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 534

प्रतिक्रिया (०)