Aamsanchar

चण्डी पूर्णिमा ? चण्डेश्वरी जात्राको महत्व

Author Image
सोमवार, जेठ २, २०७९

वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई वध गरेको कथन छ ।

यसै कारण उक्त भगवतीको नामकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।

चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्वरूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।

यसै कारण पनि यो दिन क्षेत्री समुदायका धेरै थरहरूको कुल–देवता पूजा र देवाली पनि पर्छ ।

यस दिन चण्डी पूर्णिमाको व्रत लिने चलन छ । यसरी चोखो भएर व्रत लिने र भगवान् विष्णुको आराधना गर्नाले अनि चण्डी भगवतीको स्मरण गर्नाले वर्षभरि सामर्थ्य र शक्तिको सञ्चार हुने विश्वास छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्य रूपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । आजबाट चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ ।

विशेषतः काठमाडौँ नजिकैको बनेपा सहर, पलान्चोक भगवती, आसपासका क्षेत्रमा जात्राको रौनक रहने गर्छ । बनेपामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यो जात्राको अर्को रौनक भनेको कलन दान हो । जात्रामा भक्तजनको भीडमा प्रसादका रूपमा मासु फाल्ने चलन छ । यसरी मासुरूपी प्रसाद फलिनुलाई नै कलन दान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यो जात्रा प्राचीनकादेखि चल्दै आएको छ । जसमा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछाप लगायतका ठाउँबाट समेत मानिसहरू आउने चलन छ ।

चण्डी पूर्णिमाको व्रतकथा
चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।

चण्ड सुरले महादेवको वरदान पाए । वरदानबाट शक्तिशाली भएसँगै उत्पात मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्ड सुरको वध गरेको कथन छ । चण्ड सुरको मृत्युको खुसीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ । बनेपा लगायतका आसपासका नेवा समुदायले आराध्य देवकै रूपमा चण्डेश्वरीलाई लिन्छन् । चण्ड सुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसीयालीमा सत्ययुगबाटै जात्रा गरिआएको मान्यता छ ।

कसरी मनाइन्छ चण्डी पूर्णिमा ?
जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ । अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।

जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । यो जात्रा सनातन संस्कार अनि प्राचीनतम सभ्यताको एउटा अलौकिक उदाहरण हो ।

जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।

वैशाख शुक्ल पूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजा–आजा समेत गर्ने प्रचलन छ ।

चण्डेश्वरी जात्राका अतिरिक्त काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, पलान्चोक भगवती, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।

चण्ड सुरहरूको वध गर्न हरेक युगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 790

प्रतिक्रिया (०)

सम्बन्धित खबर