Aamsanchar

गिजाबाट रगत किन आउँछ ? यसाे गर्नुहाेस् समाधानकाे उपाय

Author Image
मङ्गलवार, जेठ २४, २०७९

काठमाडौं – गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन् ।सर्जिकल ओन्कोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष  तथा सर्जन डा. प्रकाशराज न्यौपानेले क्याक्टेरियाको सङ्क्रमणले मुखमा इन्फेक्सन भई गिजा सुनिने बताउँछन् । दाँत कीराले खानु, गिजा सुनिनु, रगत आउनु, पाक्नु आदि दाँतका समस्या हुन् । यद्यपि गिजाबाट रगत आउनु दन्तहर्ष हो । यो रोग दाँतसँग मात्रै सम्बन्धित नभएर शरीरका अन्य संवेदनशील अंगमा रोग लागेर लक्षणका रूपमा गिजाबाट रगत आउँछ । यस्तै, गिजामा भएको इन्फेक्सनले रक्तसञ्चारमार्फत् पनि मुटु, कलेजो, मस्तिष्क फोक्सो लगायतमा पनि सङ्क्रमण गराउन सक्छ । त्यस्तै, मुखको  सफाइ नभएमा, मुखमा सङ्क्रमण भएमा, ल्यूकेमिया आदिले गिजाबाट रगत बग्ने गर्छ  । गुणस्तरीय खानपान नहुँदा तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि गिजाबाट रगत बग्ने गर्छ । डा न्यौपानेका अनुसार अन्य व्यक्तिलाई भन्दा सुर्तीजन्य पदार्थ खाने तथा धुम्रपान गर्नेहरुमा गिजाबाट रगत आउने समस्या बढी देखिन्छ ।गिजाबाट रगत बग्ने कुरालाई सामान्य रूपमा लिन नहुने सर्जन डा. न्यौपाने बताउँछन् । उपचारमा ध्यान नदिइए सङ्क्रमणको ठूलो रूप लिन सक्छ । गिजा कमजोर हुँदा दाँत हल्लिने र झर्ने समस्या आउन सक्छ ।

गिजामा रोग लाग्ने मुख्य कारण  

विशेषत गिजामा रगत अर्थात् सङ्क्रमण धूम्रपान गर्नेलाई बढी हुने सर्जन डा. न्यौपाने बताउँछन् । दाँतको उपचार गरेपनि गिजाको उपचारमा भने धेरैले त्यति ख्याल गर्दैनन् । मुखको स्वास्थ्यलाई अझै पनि गम्भीर ढंगले नलिंइदा गिजामा जटिल समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

सर्जन डा. न्यौपानेका अनुसार हर्मोनको गडवडी, ब्लड क्यान्सर हुँदा, सुगर नियन्त्रण नहुँदा पनि गिजाबाट रगत बग्छ । त्यस्तै मुख स्वास्थ्यमा ध्यान नदिँदा अर्थात् खाना खाइसकेपछि  कुल्ला नगर्ने, नियमित ब्रस नगर्नेहरुको गिजाबाट रगत बग्छ ।

गिजाबाट रगत बग्न नदिन के गर्ने ?

गिजामा समस्या आउन नदिन गुणस्तरीय खानामा जोड दिनुपर्ने सर्जन डा. न्यौपानेको सुझाव छ । कार्बोहाइड्रेट भएको खाना खाइसकेपछि नियमित रूपमा  कुल्ला गर्ने बानी अनिवार्य रूपमा बसाल्नुपर्छ ।

यस्तै, धेरैले सही तरिकाले दाँत सफा गर्दैनन् । धेरैले मुखको तल्लो भाग र माथिल्लो भागमा मात्रै ब्रस गर्छन् । ब्रस गर्दा दाँतका पाँचवटा भाग सफा गर्न डा. न्यौपानेको सुझाव छ । ब्रस बिहान उठ्ने बित्तिकै र राति सुत्नुअघि गर्नुपर्छ ।

दीर्घरोगी वा कुनै रोगका पीडितले सकेसम्म बिहान उठ्ने बित्तिकै र खाना खाए लगत्तै ब्रस गर्नु उपयुक्त हुन्छ । विज्ञापनमा प्रचारप्रसार गरिएजस्तो मञ्जनले मात्रै कीटाणु मर्दैनन् । खासमा मुख भित्रका कीटाणु मार्ने एन्टी ब्याक्टेरियल प्रोपर्टी हाम्रो थुकमा नै हुन्छ । विज्ञापनको पछाडि लागेर जुन पायो, त्यही मञ्जन प्रयोग गर्न हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 696

प्रतिक्रिया (०)

सम्बन्धित खबर