Aamsanchar

रोटरी क्लब अफ काँकरभिट्टाकाद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

Author Image
शनिवार, असार ११, २०७९

मेचीनग । झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा जडान भएको अक्सिजन प्लान्ट शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । अम्दा मेची अस्पताल परिसरमा आयोजित ‘अक्सिजन प्लान्ट एट आम्दा मेची अस्पताल ह्याडओभर प्रोग्राम’ मार्फत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीसहितको टोलीलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई प्लान्ट हस्तान्तरण गर्नुभएको थियो । त्यसलगत्तै नगरपालिकाले आम्दा मेची अस्पतालका डाक्टर प्रमुख डा पोषणरमण त्रिपाठीलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पु¥याउने उद्देश्यले रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो ।

मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख, रोटरी क्लब अफ काँकरभिट्टा, विर्तामोड, मेचीनगर, दमक, विर्तामोड मिडटाउन, सुरुङ्गा , भद्रपुर तथा रोटरी फाउण्डेशनबाट प्राप्त ३१ लाख १६ हजार २ सय रुपैयाँ गरी कुल ७१ लाख १६ हजार २ सय रुपैयाँको लागतमा प्लान्ट निर्माण गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२÷ २०२३ का अध्यक्ष एवम् आयोजनाका फोकल पर्सन सुजन प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले अहिलेको आम्दा मेची अस्पतालको अवस्थाका बारेमा चर्चा गदैं यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । अस्पतालले आफ्नो गुणस्तर कायम गर्न नसकेको भन्दैं आम्दा नेपालसँग निर्णयक वार्ता गरेर टुङ्गोमा पुग्नुपर्ने बताएका थिए । यो अस्पताललाई हेर्ने प्रष्ट दृष्टिकोण स्थानीय सरकार, उद्योग बाणिज्य संघ कसैसँग पनि नभएकाले अस्पतालनै विरामी अवस्थामा पुग्ने गरेको वक्ताहरुको भनाई थियो । अक्सिजन प्लान्ट निर्माण भएको प्रशंसा गर्दै यसको संरक्षण र सञ्चालनमा कहि कतै समस्या आउने हो कि भन्दैं चिन्ता समेत व्यक्त गरेका थिए । अक्सिनको आवश्यकता परेका विरामीहरुलाई अब सहजरुपमै अस्पतालले अक्सिन दिन सक्ने भनाई उनीहरुको थियो । सहभागी वक्ताहरुले आम्दा मेची अस्पतालको स्वमित्वका बारेमा विवाद रहेकाले यसलाई चाडै टुङ्याएर यसको स्तरवृद्घि गरी स्थानीयवासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै औचित्यमाथि प्रकाश सहित सहभागी सवैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका निवर्तमान नगरप्रमुख विमल आचार्य, रोटरी ३२९२ का एजी आमोद आचार्य, मेचीनगर वडानम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण कनाल, नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला उपाध्यक्ष सविता भण्डारी भेट्वाल, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सविना कट्टेल बजगाईँ , मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अजय घिमिरे, आम्दा मेची अस्पतालका डाक्टर प्रमुख डा पोषणरमण त्रिपाठीलगायतले बोल्नुभएको थियो ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा अक्सिजन प्लाण्टका फोकल पर्सन सुजन प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आम्दा अस्पतालले अक्सिजन प्लाण्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने भएपछि तात्कालिन मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, तात्कालिन प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठीले हस्ताक्षर गर्नुभएको सम्झौता पत्रमा उल्लेख छ ।

आम्दा मेची अस्पतालले २०६५ देखि सेवा शुरु गरेको हो । स्थानीय नरेन्द्र र पद्मा खनालको परिवारले करोडौ रुपैयाँ मुल्य पर्ने दुई विगाह पाँच कठ्ठा जमिन आम्दा नेपाललाई दान गरेपछि जाईकाले ९८ लाख तथा मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर २०६१ सालमा अस्पताल निर्माण कार्य शुरु गरेको थियो ।

अस्पतालमा एकजना मेडिकल सुपरिटेण्डेन, तीनजना मेडिकल अधिकृत राखेर एकसय शैयाको अस्पताल बनाउने सम्झौता सहित १५ शैया राखेर आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघ मेचीनगरले त्रिपक्षिय सहकार्यमा अस्पताल सञ्चालनमा आएको हो । विशेषगरी सिङ्गो मेचीनगर नगरपालिका तथा आसपासका पालिकाहरुका वासीलाई छिटो छरितो र सर्वसुलभ मुल्यमा स्वास्थ्य सेवा प्रदान गदैं आएको यो अस्पताल पटक पटक बन्द हुदैं र सञ्चालनमा आउदैं गरेको छ । आम्दा नेपालले अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनको जिम्मा, मेची उद्योग बाणिज्य संघ मेचीनगरले पाँच बर्षभित्रमा २० लाख रुपैयाँको अक्षयकोष खडा गर्ने र मेचीनगर नगरपालिकाले बार्षिकरुपमा साढे छ लाख रुपैयाँ अस्पताल सञ्चालनका लागि दिने सहमती भएपनि कार्यान्यवन नभएका कारण अस्पताल बेला बेला थला परेको गुनासो यसअघि निक्कै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर