Aamsanchar

हलेसी मन्दिरमा दर्शनार्थी गन्ने मेसिन उद्घाटन

Author Image
आइतवार, असार १२, २०७९

खोटाङ। खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा दर्शन एवं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि माछापुच्छ्रे बैंकले गणना मेसिन जडान गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गर्नुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एवं भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रबन्धक नयन थापाले बताउनुभयो ।

मन्दिरको प्रवेश द्वारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ । मन्दिर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्नेरगराउने व्यवस्था मिलाइने छ । पिपुल काउण्टिङ क्यामेराले मन्दिर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्युटरमा रेकर्ड गर्ने हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड नहुने जनाइएको छ । कार्यक्रममा उपमेयर रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर