Aamsanchar

‘दोषी चस्मा’

Author Image
आइतवार, असार १२, २०७९

विर्तामोड नगरपालिका र विर्तामोड उद्योग वाणिज्य संघ बिचको केही दिनदेखीको टकराव र वैमनस्यताले विर्तामोड नगरबासीको ध्यान केन्द्रित गरिरहेको परिप्रेक्ष्यमा विर्तामोड उद्योग वाणिज्य संघसँग जोडिएको व्यक्ति भएको नाताले केही विषयहरुलाई उजागर गर्नुपर्ने हुन्छ । यही विषयमा विभिन्न समयमा विभिन्न मिडिया मार्फत आफ्नो धारणा तथा समग्र घटनाको बारेमा विश्लेषण र समस्याको समाधानका सुत्रहरु पनि दिइरहेकै हो । तथापी विर्तामोड जस्तो झापाको बौद्धिक, व्यापारिक, राजनैतिकि लगायत हरेक हिसाबले विकसित क्षेत्रमा यस्ता प्रकारका अप्रीय र असमन्वयकारी विवाद हुँदा सबैमा वर्गमा नैरास्यता तथा लज्जाबोध पक्कै भएको छ ।

विर्तामोड जस्तो विकासशिल सहरलाई थप व्यवस्थित, मर्यादित, शान्तिपुर्ण र व्यवसायिक क्षेत्रको रुपमा अगाडी बढाउन सबै पक्षको विशेष योगदान रहेको यथार्थलाई सबैले मनन गर्न जरुरी छ । स्थानीय राजनीतिक दल तथा नेतृत्व, पेशा व्यवसायी, समाजसेवी, विभिन्न क्षेत्रका संघसंस्था सबैको एकता, समन्वय र सहकार्य नै विर्तामोडको मुहार फेर्नका लागि मुख्य विषयबस्तु रहँदा रहँदै विर्तामोड उद्योग वाणिज्य संघ र स्थानीय सरकार विच भएको विश्वासको खडेरीले आम विर्तामोड बासी चिन्तित बनेका छन् । यस खडेरी कसैलाई फाइदा नगर्ने र अन्त्यमा नकारात्मक दिशामा विर्तामोडको वातावरण धमिल्याउने छ ।

यस नगरीको अभिभावकको रुपमा रहेको स्थानीय सरकार र व्यवसाय तथा व्यवसायी सँगसँगै आम उपभोक्ताको हितमा लाग्ने पवित्र संस्था बिच समस्या निम्त्याउन कोही कसैले खोजेको हो भने त्यो दुःखद र खेदजन्य हुन जान्छ । व्यवसायीको समस्यामाथि खुलेआम राजनीति गर्ने र उक्त विषयमा नगर सरकारले पनि विवेकपुर्ण निर्णय गर्न नसक्नु नै यस समस्याको मुल जड हो भन्ने लाग्छ । विर्तामोड जस्तो उदाउँदो व्यापारिक केन्द्रमा विद्युत मिटर मात्रै हैन अनेकन समस्याहरु रहेको सर्वविदितै छ । बुधबारे हटियाका व्यापारी वर्गलाई विद्युत मिटरको व्यवस्था मिलाउन र यस कृषी बजारलाई अझ व्यवस्थित र आधुनिक सुविधासम्पन्न बनाउन नगरपालिका तथा सरोकारवाला सबै पक्षबाट यस अघि र यस पछि पनि थुप्रै छलफल र विचार पक्कै भएका छन् र हुनेछन् । तर तत्काललाई व्यावसायीका सबै समस्याको निराकारण भएन भनेर राजनीतिक आवरणको दोषी चस्मा लगाई राजनीतिक रंग दिने काम कोही कसैबाट नहोस् । हाम्रो समाज भनेको विविधता भित्रको एकतामा अन्तरनिहित समाज भएकाले यसको सहिष्णुता र एकतामाथि कुनैपनि मानेमा प्रहार कसैलाई पनि सह्य हुने विषय होइन ।

हामी जतिको बौद्धिक र शिक्षित व्यक्ति बसेको समाजमा सबै समस्याको समाधान वार्ता, एकआपसमा छलफल र समन्वयबाट मात्र निस्कन सक्दछ भन्ने कुरा हामिले बिर्सनु हुँदैन । प्रत्येक घटनालाई हेर्ने प्रत्येक मानिसको आ–आफ्नो नजरीया हुन्छ । तसर्थ बिना छलफल र गहन विश्लेषण बिना कुनैपनि विषयमा हठात र क्षणीक निर्णय गरी अगाडी बढ्नु हितकर छैन ।
बिर्तामोड वाणिज्य संघ यस नगरका सबै प्रकारका समस्याको हल आपसी छलफल र सहकार्यबाट निकाल्न चाहन्छ । तसर्थ सबै पक्षले यस घटनाबाट पाठ सिक्दै यस्ता घटना प्रति प्रतिसोध र पुर्वाग्रहको दोषी चस्मा फ्याँकेर अघि बढ्नु पर्छ । मानिस जती सामाजिक प्राणी हो त्यती नै राजनीतिक प्राणी पनि हो तर राजनीतीलाई सिमित अवस्थामा मात्र प्रयोग गरी निर्वाचित संस्थाको मानमर्दन हुनेगरी कसैले पनि अगाडी नबढौँ । चाहे त्यो स्थानीय तहको निर्वाचन होस् वा वाणिज्य संघ जस्ता संघसंस्थाको निर्वाचन, निर्वाचित भए पछि यी सरकार र संस्था सबैका साझा हुन र सबैको बृहत्तर विकास र हितका लागि काम गर्नु नै हाम्रो मुख्य जिम्मेवारी र कर्तव्य पनि हो ।

तसर्थ अबको विर्तामोड कस्तो बनाउने र आउने पुस्तालाई कस्तो मार्गनिर्देशन गर्ने भन्ने महत्वपुर्ण विषयलाई हृदयङ्गम गर्दै हामी सबैले लगाएको दोषी चस्मा एकपटक उतारेर सभ्य र सु संष्कृत वितोमोड नगरीको परिकल्पना गर्नमा सबै जना जुटौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर