Aamsanchar

अर्जुनधारामा बोराभित्र पुरुषको शव फेला, अनुसन्धानमा प्रहरी परिचालित

Author Image
सोमवार, असार १३, २०७९

झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । तीनदेखि चार दिन अगावै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको डीएसपी कुँवरले जानकारी दिए ।

मृतकले पुरा बाहुला भएको हल्का गुलाबी रंगको कमिज र बाक्लो ट्राउजर लगाएको उनले बताए । दाह्री र शरिरमा भएको रौँ हेर्दा शव क्षेत्रीबाहुन समुदायको हुनसक्ने उनको भनाई छ । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि धरान पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 511

प्रतिक्रिया (०)

सम्बन्धित खबर