Aamsanchar

काँकरभिट्टा–लौकही ‘फोरलेन’ सडकको लागि टेन्डर आवहान

Author Image
मङ्गलवार, असार २१, २०७९

प्रतिकात्मक काँकरभिट्टाको केही भागमा बनेको ‘फोरलेन’सडक । तस्वीर : विनोद पाण्डे/आमसंचार

एडीवीको सहयोगमा झापाको काँकरभिट्टा–लौकही सडक ‘फोरलेन’ बन्ने भएको छ । जसका लागि सरकारले टेण्डर समेत आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि कूल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालका सडक परियोजनामध्ये अहिलेसम्मकै खर्चिलो हुने देखिएको हो । जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्च जोडिएको छ ।

कूल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । यो लागत नेपालका कुनै पनि सडक परियोजनाहरुमध्ये महँगो हो । पुल र परामर्शदाताको शुल्कबाहेक भने यस सडकको निर्माणमा प्रतिकिलोमिटर खर्च साढे २३ करोड रुपैयाँ हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ ।

चार लेनमा स्तरोन्नति गर्ने गरी अघि बढेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको काँकरभिट्टा–लौकही सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताए ।

एसियाली विकास बैंक ९एडीबीको० को ऋण सहयोगमा यो सडक खण्ड निर्माण गर्न लागिएको हो । आयोजना प्रमुख ढकालका अनुसार यसका लागि एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करीब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । यसबाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ । सडक विस्तारको कूल लागतमा परामर्शदाताको शुल्क, निर्माण कार्यको लागत लगायतका सबै खर्चहरु समावेश रहेको ढकालले बताए । यस्तै वातावरण मूल्यांकन तथा डिजाइनहरु लगायत परामर्शदाताका लागि भनेर दुई अर्ब ८७ करोड रुपैयाँको अनुमानित लागत छुट्याइएको थियो । परियोजनाको ईआईएको काम सम्पन्न भइसकेको छ ।

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा यस सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण समेत रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरीङ र कन्काई ब्रिज प्रमुख रहेका छन् । यस्तै, दोस्रो खण्डमा रतुवा, बक्रा र लोहान्द्रा ब्रिज निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ ।

आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । ठेक्का पाउने निर्माण व्यसायीले सम्झौता भएको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने छ । यस्तै, पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मत सम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ ।

यस सडक विस्तारमा पर्ने सम्पूर्ण जग्गा सरकारी नै भएकाले अधिग्रहण तथा मुआब्जा वितरणको झन्झट आयोजनाले व्यहोर्नुपर्ने छैन । सरकारी जग्गामा बनेका संरचनाहरु भत्काउनका लागि क्षतिपूर्ति मात्र प्रदान गरिने आयोजनाले जनाएको छ । त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने आकलन आयोजनाको छ । यो आयोजना सडक विभाग, आयोजना निर्देशनालय, एडीबी, सासेक हाइवे इम्प्रुभमेन्ट प्रोजेक्ट, प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित छ ।

यस्तो छ सडक विस्तार योजना

पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन विस्तारअन्तर्गत हाल ठेक्का आह्वान गरिएको यो सडक खण्ड झापाको काँकरभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कूल लम्बाइ ९६ किलोमिटर रहेको छ । यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ ।

सडकको चौडाइ २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुने छ । आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ वटा ठूला पुलहरु यसमा पर्नेछन् ।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ । यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ । यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ ।काँकरभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ ।

जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन् । सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन् । शहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टि ७.५र७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५.५० र ५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५० र ६.५० मिटरको रहेको छ । शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ । यी पुलको लम्बाइ ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाइको हुनेछन् ।

यसैगरी, सडकखण्डमा आकाशे पुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ । सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर सञ्चालनमा आउनेछ ।

यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन् ।सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ ।

यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ । यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर