Aamsanchar

कोदो आयातमामात्र करीव १५ करोड रुपैयाँ विदेशियो

Author Image
बिहिवार, असार ३०, २०७९

मेचीनगर । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा यतिखेर सर्वत्र बहस चलिरहेको छ । तर, रैथाने त्यही बाली कोदो आयातकालागि मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ ।

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन गर्न घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको कोदोको रक्सीलाई प्रशोधन गरि बजारमा ल्याउन सके आम्दानीसँगै पहिचान बन्दै जाने बताईरहेका छन् । तर, चालु आर्थिक वर्ष २०७८÷२०७९ को एघारमहिनामा काँकरभिट्टा नाकाबाटमात्र १४ करोड ९४ लाख ७५ हजार रुपैयाँ मुल्य बराबरको ४ हजार ६ सय ७१ मेट्रिक टन कोदो आयात गरिएको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुका अनुसार देशको उच्च र मध्यपहाडी क्षेत्रमा विशेषगरि कोदो उत्पादन हुने कोदो भारतबाट आयात गर्नुपरेको बताउनुभयो ।

गाउँघरमा कोदो फलाउने अनि यसको महत्वलाई बुझेर सरकारले ठोस योजना बनाउन नसक्दा घरायसी प्रयोगमा मात्र सीमित भएको र उत्पदान समेत कम हुने गरेका कारण आयात गर्नुपरेको बताइएको छ । पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती यतिखेर पहाडी ग्रामीण भेगमा लोप हुँदै गएको सरकारी अधिकारीहरु बताउछन् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण भेगका लागि समेत दुर्लभ बन्दै गएको बाली संरक्षण अधिकृत साहु बताउनुहुन्छ ।

कोदो फल्ने बारी अहिले बाँझो बारीमा परिणत हुँदै जानु, पहिला डाँडाभरि हुने कोदोखेती अहिले कहिँकतै मात्र उत्पादन हुनु, कोदो लगाउने जग्गा बाँझै राख्नु, काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो लोप हुँदै गएको झापा मेचीनगरका रामबहादुर राईको भनाइ छ । कोदोको महत्व नबुझेका कारण औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको राईको भनाई छ ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने गरेको स्वस्थ्यकर्मी हरेराम पञ्जियार बताउनुहुन्छ ।

झापाको उत्तरीक्षेत्रमा मात्र कोदो खेती हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । तर, झापामा उत्पादन भएको कोदोले झापालीको माग धान्न नसकेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीको भनाई छ । दमकको माथिल्लो भेग, मेचीनगरको बाहुनडाँगी, अर्जुनधारको खुदुनावारी, शनिश्चरे, बुद्घशान्तिको बुधबारेलगायतका क्षेत्रमा कोदो खेती हुने गरेको छ ।

उहाँका अनुसार झापामा ९ सय ९५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमा १ हजार २ सय ९३ मेट्रिक टन कोदो उत्पादन हुँदै आएको छ । जुन १ दशमलव ३ प्रतिशत हो । तर, यो उत्पादनले झापामा कोदोको माग धान्न सकेको छैन् । विगतको तुलनामा उत्पादन घटेको र कोदो खेती गर्न धेरै गाह्रो हुने हुनाले पनि खेती कम हुँदै गएको केन्द्रको भनाई छ ।

कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुनु सकरात्मक सन्देश नभएको कृषि विज्ञहरुको भनाई छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढ्नुले नेपालको लाखौं रुपैयाँ बाहिरीनु हो । देशको उच्च र मध्यपहाडी क्षेत्रमा विशेषगरि कोदो उत्पादन हुने गरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार भारतबाट मात्र आयात हुने कोदो केहि वर्षदेखि थाइल्याण्डबाट पनि आयात हुने गरेको छ । पूर्वी नाका काँकरभिट्टा भएर भित्रिएको कोदो भारतबाट मात्र आयात गरिएको हो । विदेशबाट करोडौंको कोदो आयात भइरहँदा स्वदेशी उत्पादनको सानो हिस्सा पनि निर्यात भएको छैन् । नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको छ । सरकारले कोदोको निर्यात बढाउन ओखलढुङ्गा, खोटाङ्ग तथा भोजपुरलगायतका जिल्लामा कोदो मिसन कार्यक्रम सञ्चालन गरेको थियो ।

परम्परागत बालीनालीको प्रवद्र्घन गर्न राज्यले कुनै चासो नदिएको र कृषकको उत्पादन लागत समेत बढेकाले किसान कोदो खेतीबाट वैक्लिपिक खेतीतर्फ लागेको झापा मेचीनगर—६ का पदमबहादुर मगर बताउँनुहुन्छ । केही वर्षदेखि कोदोको व्यवसायीक खेतीमा लागत बढी र उत्पादन कम हुँदा पनि किसानको कोदो खेतीतर्फ आकर्षण घटेको उहाँको भनाई छ । कोदोको प्रवद्र्घनमा सरकारी उदासिनताका कारण कोदोखेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको उहाँको भनाई छ ।

सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिदाँ हरेक वर्ष स्वदेशी उत्पादन घट्दैं गएको छ । स्वदेशी उत्पादन घट्दै गएका कारण आयात बढेको सम्बन्धित अधिकारीहरु बताउँछन् । सरकारले कोदोको उत्पादन बढाउन कुनै किसिमका कार्यक्रम ल्याएको छैन् । यसको खेती गर्ने किसानलाई सहुलियत दरको ऋणको व्यवस्था पनि छैन् । सरकारले पहाडी बाली जोगाउने र त्यसलाई बढाउने योजना ल्याउनुपर्ने किसानको भनाई छ ।

कोदो बाली साना, सिमान्त कृषकको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने किसानकोे सुझाव छ ।

अध्ययन अनुसन्धान गरी सम्मानित बालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रसोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनुपर्ने, राष्टिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त वीउ तथा प्रविधि उपलव्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रृखला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिईएको छ ।

कोदोमा प्रचुरमात्रामा फलाम पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ भन्ने भनाई पनि छ । यसकारण पनि स्वास्थ्यका हिसावले पनि निक्कै लाभदायक मानिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर