Aamsanchar

एकवर्षमा ५१ करोड रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात

Author Image
बुधवार, साउन ४, २०७९

मेचीनगर।  पूर्वीनाका काँकरभिट्टाबाट हुने अम्रिसोको निर्यात गत आर्थिक वर्ष २०७८/२०७९ मा अघिल्लो चार आर्थिक वर्षयताकै उच्च छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत आर्थिक व वर्ष २०७८/२०७९ मा पूर्वीनाका भएर ५४ करोड ७९ लाख ७५ हजार रुपैयाँ मुल्य बराबरको १० हजार ९ सय ५९ मेट्रिक टन अम्रिसो निर्यात भएको छ ।

यो निर्यात व्यपार आर्थिकवर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिभन्दा निक्कै उच्च हो । आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट नाका भएर ३२ करोड ८९ लाख रुपैयाँ रुपैयाँ मुल्य बराबरको ६ हजार ५ सय ७८ मेट्रिक टन अम्रिसो निर्यात भएको कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारत र बंगलादेशमा अम्रिसोको माग बढ्नु तथा नाका सहज हुनुले पनि अम्रिसोको निर्यात उच्च भएको बाली संरक्षण अधिकृत देविन्द्र साहुको भनाई छ ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादित अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चारवर्षदेखि पूर्वी काँकरभिट्टानाका हुँदै भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दो क्रमा रहेको थियो । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढेसँगै निर्यात व्यपार पनि सन्तोषजनक थियो । तर,पछिल्लो समय माग बढे पनि निर्यात भने कम थियो । तर, गत आर्थिक वर्षमा भने निर्यात निक्कै उच्च रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसो नोवल कोरोना भाइरस कोभिड १९ का कारण पूर्वीनाका सहज र नियमितरुपमा सञ्चालनमा आउन नसक्दा अघिल्ला आर्थिक वर्षमा निर्यात घटेको व्यवसायीहरुको भनाई छ । आर्थिक वर्ष २०७६/२०७७ मा काँकरभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/२०७६ मा ३७ करोड ४० लाख २ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा यो नाका हुदैं ४२ करोड २६ लाख ५६ हजार मुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको सरकारी तथ्याङ्क छ ।

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, ईलाम र झापाका केहि केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लम्जुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ ।

सिलङ्गबाट मात्र बर्षेनी पाँच देखि साढे पाँचलाख वण्डल अम्रिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता, राजस्थान, हैदरावादलगायतको बजार लिनेको गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापा जिल्लामा मात्र तीनदर्जन बढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुईहजार बढीले रोजगार पाएका छन् । कुचो व्यवसायीले बिभिन्न स्थानबाट काँचो अम्रिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको नेपाली व्यवसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 511

प्रतिक्रिया (०)

सम्बन्धित खबर