Aamsanchar

मक्कामा इजरायली नागरिकको प्रवेश, घुमाउन सहयोग गर्ने साउदीका नागरिक पक्राउ

Author Image
आइतवार, साउन ८, २०७९

एकजना इजरायली पत्रकार गोप्य रूपमा जुलाई १८ मा साउदी अरेबियास्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिकस्थल मक्का प्रवेश गरे । उनले आफ्नो यात्राको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेपछि मुस्लिम विश्वमा विरोध सुरु भएको छ ।

साउदी अरब सरकारले ती पत्रकारलाई मक्का घुमाउन सहयोग गर्ने साउदीका नागरिकलाई पक्राउ गरेको छ । इजरायलको च्यानल १३ सँग आबद्ध पत्रकार गिल तामारीले मक्का प्रवेश गरेको भिडियो उनको सामाजिक सञ्जालमा पोस्ट गरे । यसबाट मुस्लिम नागरिक तथा सरकारहरु रुष्ट भएका छन् र अहिले उनीमाथि कारबाहीको माग गर्न थालेका छन् ।

साउदी प्रहरीका प्रवक्ताले एकजना गैर–मुस्लिम पत्रकारलाई सहरमा प्रवेश गर्न सघाउने एक जना साउदी नागरिकलाई पक्राउ गरिएको बताए । पक्राउ परेकालाई कानुनी कारबाही गरिने तिनले बताए । इजरायली पत्रकार गिल तामारी गतहप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरबको भ्रमणको रिपोर्टिङ गर्न सो मुलुक गएका थिए । सोही क्रममा उनी मक्का गएका थिए ।

उनी मक्का गएर एउटा १० मिनेटको भिडियो पनि बनाए । जसमा उनी अराफात पर्वतमा देखिएका छन्, यो त्यही स्थान हो जहाँ मुस्लिम तीर्थयात्रीहरु हज यात्राको समयमा प्रार्थना गर्न भेला हुन्छन् । गिल भिडियोमा हिब्रु र अंग्रेजी मिसाएर बोल्छन् ।

इजरायली भएको थाहा पाउलान् भनेर उनी मानिसहरु नजिकिँदा अंग्रेजी बोल्न थाल्छन् । भिडियोमा उनले आफूले गरिरहेको काम अवैध हो भन्ने थाहा भएको तर पनि मुस्लिम दाजुभाइ दिदी बहिनीहरूको लागि महत्वपूर्ण रहेको स्थल देखाउन चाहेको बताउँछन् ।

गिलको भ्रमणको विरोध हुन थालेपछि उनी र उनी कार्यरत टीभी च्यानल १३ ले माफी मागेका छन् । गिलले मुस्लिमहरुको भावनामा चोट पुर्याउने आफ्नो उद्देश्य नभएको बताएका छन् ।

गैर–मुस्लिमहरुलाई मक्का जान प्रतिबन्ध छ

मक्का इस्लाम धर्मको सबैभन्दा पवित्र शहर हो । यस सहरमा गैर–मुस्लिमहरूको प्रवेशलाई पूर्णत निषेध गरिएको छ । इस्लाम धर्मावलम्बीहरुले मक्कामा प्रार्थना गर्दा गैर मुस्लिमले त्यहाँको परम्परा नबुझेर डिस्टर्ब हुने भन्दै गैर–मुस्लिमहरू यहाँ प्रवेश निषेध गरिएको हो ।

कुरानका आयात र शहरको पवित्रता कायम राख्नको लागि यी नियमहरू लागू गरिएका हुन् । यदि कुनै गैर–मुस्लिमले जबरजस्ती मक्का पस्ने प्रयास गरेको पाइएमा उसलाई जरिवाना गराइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 510

प्रतिक्रिया (०)

सम्बन्धित खबर