Aamsanchar

झापाबाट अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कन्सल्टेन्सी संचालकसहित ४ जना पक्राउ

Author Image
सोमवार, भदौ ६, २०७९

झापा-अनलाईन गेमिङमार्फत् नेपालमा प्रतिबन्धित पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कन्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

 

पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ वर्षीय शत प्रकाश साह र दमक नगरपालिका-७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्यूनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक एवं कमल गाउँपालिका-२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिश आर्मी ट्रेनिङ्ग सेन्टरका सञ्चालक दमक-८ का ३३ बर्षीय राजु लिम्बू रहेका छन् ।

गोप्य सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङमार्फत नेपालमा प्रतिबन्धित पैसाको हार जित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सिम झिकेर सोही सिमबाट सट्टा बाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ई-सेवा खाता खोली लाखौँको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE को प्राप्ताङ्कसमेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
9
+1
2
+1
0
+1
1
+1
0
+1
0
Views: 3170

प्रतिक्रिया (०)

सम्बन्धित खबर