Aamsanchar

मोरङको विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै

Author Image
बिहिवार, भदौ १६, २०७९

विराटनगर – मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ।

फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो।  व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ।

विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। भदौ ८ गतेदेखि १६ गतेसम्म आरिडिटी प्रविधिबाट १९ जनामा रगतको सेरोलोजी परीक्षण गर्दा विराटनगरकै दुई जनामा डेंगु पोजिटिभ देखिएको हो।

हाल उनीहरूको उपचार भइरहेको अस्पतालकी कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रतिक्षा कार्कीले बताइन्। कोशी अस्पतालमा केही दिनयता दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चाप समेत बढेको छ।

अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालका औषधि विभाग प्रमुख डा. दिपक सिग्देलले बताए।

उनले बुधबार मात्रै काठमाडौंबाट आएका चार जनामा डेंगु देखिएको जानकारी दिए। उनले भने, ‘उपत्यकामा डेंगुको प्रकोप उच्च छ। उताबाट फर्किएका ७० प्रतिशतमा डेंगु देखिएको छ।’

डेंगुको रोकथामका निम्त्ति भेक्टर लक्षित उपायहरू अपनाउनु पर्ने चिकित्सकको सल्लाह छ। लामखुट्टेको प्रजनन रोकथाम तथा सरसफाईमा विशेष ध्यान पुर्‍याउनु पर्ने उनीहरू बताउँछन्।

डेंगुको प्रकोपबाट जोगिन झुलको प्रयोग गर्ने, बाहुला छोप्ने गरी लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिने, किटनाशक औषधिको प्रयोग गर्ने तथा लोशनहरू लगाउने बानीको विकास गर्नुपर्ने डा. सिग्देलको भनाइ छ।प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार साउन मसान्तसम्म मात्रै प्रदेश १ मा ८४ जना डेंगुका बिरामी भेटिएका छन्। त्यसयता मन्त्रालयले तथ्यांक अद्यावधिक गरेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 295

प्रतिक्रिया (०)