Aamsanchar

‘मानव बेचबिखन दोस्रो ठूलो अपराध’

Author Image
सोमवार, भदौ २०, २०७९

आज भदौ २० गते वा १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस । यसवर्ष ‘तीनै तहका सरकारमानव बेचबिखन विरुद्घको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइदैं छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन थालिएको हो ।

मन्त्रिपरिषदको २०६४ जेठ ११ को बैठक बाट हरेक बर्ष भदौ २० गतेलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिए बमोजिम हरेकवर्ष भदौ २० गते आजका दिन लाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको इतिहास छ ।

मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ ।

हरेक वर्ष अलग अलग नाराका साथ विविध कार्यक्रम गरी यो दिवस मनाईँरहेपनि हाम्रो देशमा मानव बेचबिखनका घटना निक्कै डर लाग्दो र भयावह बनिरहेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या ज्यूँका त्यू छ भन्दा कुनै अत्यूक्ति नहोला ।

देशका हरेक जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण र रोकथामका लागि दर्जनौं गैरसरकारी संस्था क्रियाशील छन् भने सरकारी निकाय पनि उत्तिकै सक्रिय छ । सीमा नाका र विमानस्थलमा समेत सधैँ तैनाथ छन् सरकारी तथा गैरसरकारी संस्था । तर, मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भए पनि यसलाई निर्मूल गर्न सकिएको छैन् । मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने सरोकारवालाहरुले बताउँदैं आएका छन् । मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो ववरमहल काठमाण्डौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लकै भनाईलाई सापट लिने हो भने मानव बेचबिखनरुपी व्यापारबाटमात्र विश्वव्यापीरुपमा बार्षिक करीब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको छ । विश्वव्यापीरुपमा हुने मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने र करीब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

खासगरी मृगौला, कलेजो र रगत शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेका छन् । आजको आधूनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक भएको भन्न सकिन्छ ।

संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागूऔषधमध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष करीब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ । यस्तो अपराध कम गर्न प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौले सन्देशमुलक सन्देश प्रवाह गर्न मुख्यः नाकामा डिस्प्ले बोर्ड राखेको छ । हुनतः मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासले मात्र सम्भव छैन् । यसलाई रोक्न सवै एकजुट हुनुपर्छ ।

नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेका छन् । बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेका छन् । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने गरेका छन् । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवरजस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको अवस्था रहेको छ ।

पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।

बेचबिखनमा बढी महिला पीडित हुने गरेका छन् । यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने देखिन्छ । अथवा मानव बेचबिखनमा मुख्य पीडित महिलाहरू नै हुने गरेकाले विशेष गरी महिलाहरू नै बढी सचेत र जागरूक हुनुपर्छ जस्तो लाग्छ । पहिले देशभित्रै दास प्रथा, कमैया प्रथाका नाममा बेचिने गरेका थिए । अब त देशबाहिर पनि मानव बेचबिखन हुने हुँदा दुवै विषय संवेदनशील भए । जवसम्म जनता सचेत हुदैँनन् तवसम्म मानव बेचबिखनका घटना न्यूनीकरण हुन् सक्दैन् । कानुन कार्यन्वयनमा नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने आजको आवश्यकता हो ।

नेपाल प्रवेश गर्ने वा बाहिरिने पूर्वको मुख्यः काँकरभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण र रोकथाममा सक्रिय गैरसरकारी संघ संस्थाहा अधिकारीहरु

मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या भएको धारणा अघि सार्छन् । समाज र राष्ट्रकै डर लाग्दो कलङ्कको रुपमा देखापरेको यो समस्या अन्त्य गर्ने अठोटका साथ २०४९ सालमा माईती नेपाल गैरसरकारी संस्था स्थापना भएको छ । त्यसपछि पनि यस्तै उद्घेश्यका लागि काम गर्ने भन्दैं धेरै संस्थाहरु जन्मेका छन् । नेपाल प्रवेशको पूर्वी काँकरभिट्टा नाकामा मात्र हेर्ने हो भने माईती नेपाल, साना हातहरु, विश्व सेवा विस्तारलगायतका थुप्रै गैरसरकारी संस्था छन् ।

सिङगो महिला तथा बालबालिका कार्यालय रातदिन यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागि रहेको छ । चेलीबेटी बेचबिखन बिरुद्व सघर्षरत र महिला एवम् बाल–बालिकाको हकहितका लागि काम गर्दे आएका दर्जनौ गैरसरकारी सघ–संस्था भए पनि उनीहरुको मात्र एक्लो यो प्रयास सम्भव छैन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर