Aamsanchar

बुढी पोल्ने पर्व मनाइँदै

Author Image
शनिवार, असोज १, २०७९

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज शनिबार बुढी पोल्ने पर्व सुरु भएको छ ।

यो पर्व प्रत्येक वर्षको असोज १ गते धुमधामसँग मनाइने गरिएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुत्लालाई पोल्ने गरिएको संस्कृतिविद् जयानन्द भट्टले बताउनुभयो । भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वालाहरुले पुतनाको शव दहन गरेको कथन रहेको जनाइएकाे छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोटविरुवाको लिङगोमा शनिबार साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन रहेकाे छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छ ।

गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ ।

सबै भन्दा अग्लो ठाउँमा रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटविरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । थुप्रोलाइ स्थानीय भाषामा बुढी हालेको भन्ने गरिएको छ । यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा रहेको छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गरिन्छ ।

बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन रहेकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर