Aamsanchar

नवौं राष्ट्रिय खेलकुद उद्घाटन तयारी यस्तो

Author Image
शुक्रवार, असोज २८, २०७९

नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।

राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले दिउँसो ४ः३० बजे गर्दै छन् । यसपल्टको उद्घाटन समारोह अघिल्ला संस्करणका भन्दा फरक र ऐतिहासिक हुने समारोह उपसमितिका संयोजक एकेन्द्र कुँवरको दाबी छ । उनका अनुसार रंगशालाको फुटबल स्टेडियममा उपराष्ट्रपतिको आगमनसँगै नेपाली सेनाले राष्ट्रिय गानमा ब्यान्ड सलामी प्रस्ततु गर्नेछ । त्यसपछि सुरु हुनेछ मार्चपास । मार्चपासको अगाडि समुद्घाटन ब्यानर हुनेछ । एपीएफका ९ जना नवौं राष्ट्रिय खेलकुदको मस्कट ‘जरायो’ को भेषमा प्रस्तुत हुनेछन् ।

नवौंमा पहिलोपल्ट ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ । १० तोला चाँदी र दुई तोला सुन जडित उक्त ट्रफी ६ प्रदेश र तीन विभागीय टिमको मुख्यालय पुर्‍याएर गण्डकीमा ल्याइएको छ । उक्त ट्रफीका सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ । गण्डकी प्रदेशका विभिन्न १२ जातजातिका संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछ ।

तत्पश्चात् राखेपका सदस्यसचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले स्वागत भाषण गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको मन्तव्यपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झन्डोत्तोलन गर्नेछन् । खेलाडीका तर्फबाट गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुशील गुरुङ र रेफ्रीका तर्फबाट भलिबलका टहलसिंह थापालाई शपथग्रहण गराउने तयारी छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्तव्यपछि उपराष्ट्रपति नन्दकिशोर पुनले खेलकुद समुद्घाटनको घोषणा गर्नेछन् । उपराष्ट्रपतिको ३ मिनेटको मन्तव्यलगत्तै मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री गहतराजले ३ मिनेटमा धन्यवाद ज्ञापन गर्नेछन् ।

त्यसपछि बज्नेछ नवौं राष्ट्रिय खेलकुदको गीत । दिनेश अधिकारीको रचना, प्रकाश गुरुङको संगीत र चाँद सिंहको संगीत संयोजनमा ६ कलाकारले यो गीत प्रस्तुत गर्नेछन् । कलाकार आनन्द कार्की, शिव परियार, रामभक्त जोजिजु, कुन्ती मोक्तान, बानिका प्रधान र रचना रिमालले गीत प्रस्तुत गर्दा ४० विद्यार्थीले उक्त खेलकुद गीतमा नृत्य गर्नेछन् ।

नेपाली सेना र राष्ट्रिय सेवा दलको २ सय जनाको संयुक्त ब्यान्ड डिस्प्ले पनि आकर्षणका रूपमा रहनेछ । सेनाको ब्यान्डले प्रस्तुत गर्ने विभिन्न धुनमा सेवा दलले आफ्नो प्रस्तुति राख्नेछ । जसमा डा। कृष्णहरि बरालको शब्द र पाण्डव सुनुवारको संगीत रहेको ‘म भक्त हुँ यो देशको।।।’ समेत गुञ्जनेछ । पोखराका चर्चित पप ब्यान्डका गीतलाई पनि सेनाको ब्यान्डले धुनमा प्रस्तुत गर्नेछ । सेवा दलका ३ सय जनाले नै खुकुरी ड्रिल प्रदर्शनी गर्नेछ । सुदूरपश्चिमको प्रख्यान हुड्केली नाच रंगशालामा देखाइनेछ ।

विभिन्न विद्यालयका ४ सय विद्यार्थीले एकसाथ नृत्य प्रस्तुत गर्नेछन् । उनीहरूले सातवटै प्रदेशका लोक संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने समारोह उपसमिति संयोजक कुँवरले बताए । ‘गण्डकीको कौराह, पूर्वको साकेला, पश्चिमको देउडा जस्ता लोक नृत्य प्रस्तुत गर्दा रंगशाला जुरुक्कै उठ्नेछ,’ उनले भने । ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’, ‘बन्दीपुरैमा’, ‘पश्चिम कोही पूर्व घर’ जस्ता गीतमा विद्यार्थीले सामूहिक नृत्य प्रस्तुत गर्नेछन् ।

उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिनेछन् । विद्यार्थी, सेना, प्रहरी, एपीएफ, खेलाडी, रेफ्री, खेल पदाधिकारी, अतिथि र स्थानीयको उपस्थितिले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट भरिने उनको आकलन छ । उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ । रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ । यो समाचार आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर