Aamsanchar

अर्जुनधारामा रमित लग्दो गरि फल्यो नयाँ प्रजातीको धान, निरिक्षण गर्न आयो विज्ञ टोली

Author Image
सोमवार, कार्तिक २८, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा –७ मिलडाडाँ स्थित एक किसानले लगाएको धान बाली रमित लाग्दो गरेर फलेको छ । अर्जुनधारामा पहिलो पटक नयाँ जातको थान यसरी फलेको हो ।

अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध कृषक शिवशंकर यादवले लगाएको मिथिला जातको धान अन्य प्रजातिको धान भन्दा राम्रो फलेको छ ।

सुनसरीको तरहरा स्थित कृषि अनुसन्धान केन्द्रले तयार पारेको उक्त धानको बिउ अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारीले वितरण गरेको थियो । यस अघि यादवले रञ्जित, ठुलो मन्सुली जातको धान लगाउदै आएका थिए भने यस वर्ष परीक्षणको रुपमा ३ बिघा क्षेत्र फलमा कृषक यादवलाई मिथिला थान लगाउन लगाइएको थियो ।

मिथिला जातको धान अर्जुनधारामा नयाँ प्रजातीको धान हो । फलेको बाला हेर्दा स्थानीइहरुनै चकित बनेका छन् । नजिकैका अन्य धानको तुलनामा तेब्बर बाक्लो बाला लागेको छ । यो धान प्रति विघा १ सय मनको दरले उत्पादन हुने स्थानीय कृषकहरूको अनुमान रहेको छ ।

अर्जुनधारा नगरपालिकामै पहिलो पटक लगाइएको यो धान बाली निरीक्षण गर्नको लागि हिजो (सोमबार) कृषि विज्ञ, सरोकारवालाहरू धान खेतीमै पुगेका थिए ।

अनुसन्धान केन्द्र तरहरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र भद्रपुर, कृषि फर्म चन्द्रडाँगीका प्रमुख, कृषि विकास शाखा अर्जुनधाराका प्रतिनिधि, पशुपक्षी विकास शाखा प्रमुख, आर्थिक विकास शाखा प्रतिनिधि, सहकारीका पदाधिकारी र वीज वृद्विमा संलग्न कृषकहरूले धानबालीको निरीक्षण गरेका छन् ।

अर्जुनधारा नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक रुपमा अन्यत्र पनि कृषि उत्पादनलाई बिक्री गर्न सक्ने गरि १० वर्षे योजना बनाएर विगत १० महिना अघि स्थापना भएको अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थाले अब सबै कृषकलाई आफैले बिउ तयार पारेर उपलब्ध गराउने भएको छ । अर्जुनधाराका कृषकले धानको बिउका लागि मात्र वार्षिक १ करोड भन्दा धेरै रकम लगानी गर्दै आएको थियो । उक्त रकम भारत लगायतका देशमा पुग्ने हुदाँ नेपाल आर्थिक समृद्धि हुन नसकेको र आफ्नो देशको पैसा आफै भित्र रहोस् भन्ने उद्देश्यले बिउ भण्डारणको काम थालनी गरिएको अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थाका उपाध्यक्ष छत्र पौडेलले आमसंचारलाई बताए ।

सहकारीले धान, गहुँ, तोरी लगायत वालीको बिउ भण्डारण गर्न सुरु गरेको छ । सहकारी मार्फत दुईजना कृषि प्राविधिक निशुल्क किसानहरूलाई परामर्श दिन खटाएको छ । विचौलियाले कृषकलाई अपमान मूलक मूल्य तोकेर मारमा पार्दै आएका छन् । त्यस्ता विचौलिया धन्दालाई बन्द गराउन यस सहकारीले बियु आफै भण्डारण गर्न थालेको पौडेलले बताए ।

धानहरु मा मिथिला मध्यम समूहमा पर्दछ । नेपाल सरकारले यस किसिमको धानको मूल्य ३१ रुपैयाँ २८ पैसा समर्थन मूल्य तोकेको छ । सो मूल्य भन्दा केही धेरै रकम कृषकलाई दिएर सबै धान सहकारीले खरिद गरिदिने धान अवलोकनको क्रममा उपाध्यक्ष पौडेलले कृषकलाई आश्वासन दिएका छन् ।

सरकारको तिन खम्बे नीति अनुसार स्थापना गरिएको यस सहकारीले स्थापनाको छोटो समयमा राम्रो कृषि योजनाहरू ल्याएको छ । अरु सहकारी भन्दा अलि भिन्न भिजन भएकाले नगरपालिकाले २४ लाख ९० हजार बराबरको शेयर लिएको छ । सरकार, सहकारी र नीजि क्षेत्रको संयुक्त सहभागितामा सबै सहकारीहरुले काम गर्ने हो भने नेपालमा कृषि क्रान्ती ल्याउन समयनै नलाग्ने र त्यसका लागि अर्जुनधारामा रहेका ८५ प्रतिशत कृषि पेशामा आवद्ध कृषकहरुले पनि कृषि उत्पादनलाई परंपरागत मात्र होईन व्यवसायिक बनेर काम गर्न सके आर्थिक अवस्था माथि उठन सक्ने अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदम राईको भनाई छ ।

तराई क्षेत्रमा लगाइने धान
तराईका भूभागमा वर्षे र चैते धान गरी दुईपटक उत्पादन हुन्छ । हाल चैते धानहरूमा चैत २, चैत ४, चैत ६, हर्दिनाथ १, चैत ५, विन्देश्वरीजस्ता उन्नत जातका धानहरू चैतमा लगाइन्छ । विशेष गरी तराईमा वर्षे सिजनमा लगाइने धानअन्तर्गत सावित्री, मनसुली, जानकी, मकावानपुर १, राधा ७, राधाकृष्ण ९, राधा ४, राधा ११, राधा १२, रामपुर मनसुली, मिथिला, राम, वर्षे ३००४, सुनौली सुगन्धा, लल्का बासमती, हर्दिनाथ २, तरहरा १, सुक्खा १, सुक्खा २, सुक्खा ३, वर्षे २०१४, साँवा मसुली, सुक्खा धान ४, सुक्खा ५, सुक्खा धान ६, राधा १३, बहुगुणी १, बहुगुणी धान २, हर्दिनाथ ३ जस्ता उन्नत जातका धानहरू छन् ।पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिराजस्ता स्थानीय जातका धानखेती गर्न छाडेका छन् । त्यसको विकल्पमा सक्खा सहन सक्ने राधा ४, सुक्खा १ देखि सुक्खा ६ सम्मका उन्नत जातका धानखेती गर्न थालेका छन् ।

१२ किसिमका धान सूचीकृत लिस्टबाटै हटाइयो
नेपाल बाली तथा आनुवांशिक केन्द्र नार्कले २०२५ सालदेखि लगाउँदै आएको धानलाई बजारीकरण गर्न बन्द गरेको छ । केन्द्रले १२ वटा धानको जातिलाई हटाएको हो । ०२५ देखि ०४४ सालसम्म उत्पादन हुँदै आएका धानहरूका १२ प्रजातिलाई किसानले नरुचाउने, उत्पादन कमी, विभिन्न रोग, पानीको अभावलगायतका कारणले विस्थापित भएको अनुवंशिक केन्द्रकी प्रवक्ता पल्लबीकुमारी सिंहले बताइन् । ‘यी धानहरू किसानबाट माग आउन छाडेको र उत्पादन घटेसँगै संरक्षणका लागि मात्र जीन बैंक नार्कमा राखेका छौँ,’ उनले भनिन् । आइआर ८, आइआर २०, आइआर २२, आइआर २४, परावनीपुर १, जया, चन्दिना, दुर्गा लक्ष्मी, खजुरा २, मल्लिका, वर्षे २ धानहरू जिन बैंकमा मात्र रहेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर