Aamsanchar

प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनेका अधिकाँश नयाँ अनुहार

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

मेचीनगर । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्रनम्बर १ बाट प्रदेशसभा सदस्यकालागि उम्मेदवार बनेका अधिकाँश नयाँ अनुहार हुन् ।

निर्वाचन अधिकृतको कार्यालय झापा जिल्ला प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र नम्बर १ का अनुसार प्रदेशसभा सदस्य २ पदकालागि प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट ६ तथा क्षेत्र नम्बर २ ‘ख’ बाट १० गरी १६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यी सवै नयाँ अनुहार हुन् ।

यी १६ मध्ये सत्ता गठबन्धनबाट बनेका र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट खडा उम्मेदवारबीच प्रतिस्पर्धा हुने अडकलबाजी विभिन्न राजनीतिक विश्लेषकहरुको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट खडा भएका ६ जना उम्मेद्वारमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट खडा हुनुभएको नेकपा एमालेका झापा सहइञ्चार्ज रविन कोइराला र सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एकीकृत माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका गोपाल तामाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ को पहिलो प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत राप्रपा र एमालेको तालमेल भएको, अहिले पनि त्यसैलाई निरन्तरता दिइएका कारण र एमालेले आफ्नो सत्तामा रहेका बखत गरेको जनमुखी कामले गर्दा आफ्नो जीत सूनिश्चित रहेको एमालेका कोइरालाको दावी छ । नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकीकृत माओवादी केन्द्र सारथी बनेपछि काँग्रेसका तामाङ पनि परिणाम हात पार्न लागि पर्नुभएको छ ।

कोइराला संविधानसभा सदस्य हुनुहुन्छ भने काँग्रेसका तामाङ तरुण दलका नेता हुनुहुन्छ । कोइरालाले २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो । तीनै शर्मा अहिले हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यकालागि नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्व कानुनमन्त्री तथा महान्यायधिवक्ता अग्निप्रसाद खरेलसँग चुनावी मैदानमा हुनहुन्छ ।

१ ‘क’ बाट कोइराला र तामाङसहित जनता समाजवादी पार्टीको मीरा कार्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गंगालाल राजवंशी, मंगोल नेश्नल अर्गनाइजेसनको सागर राई र मौलिक जरोकिलो पार्टीको सीता दुलाल उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा १ ‘क’ तर्फ मेचीनगर नगरपालिकाको वडानम्बर १, २, ३, ४, ५, ६, ७, ८, १० १५ र भद्रपुर नगरपालिकाको ९ नम्बर वडासहित गरी ११ वटा वडा पर्दछन् । १ ‘क’ मा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । १ ‘क’ मा ७१ हजार ९ सय ७७ जनाले मतदान गर्नेछन् ।

दशजना उम्मेदवार रहेको प्रदेशसभा सदस्य निर्वाचन २ ‘ख’ बाट समेत नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट खडा हुनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मेचीनगर अध्यक्ष समेत रहनु भएको सबिना बजगाई र सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टी, नेपाली काँग्रेसकको गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत माओवादी केन्द्रको नेत श्यामविर लिम्बुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२ ‘ख’ तर्फ मेचीनगरको ९, ११, १२, १३ र १४ , बुद्घशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ अनि भद्रपुर नगरपालिकाको १० नम्बर गरी १० वटा वडा पर्दछ । । मतदान स्थल २ ‘ख’ मा १७ र मतदान केन्द्र ५४ वटा छन् । २ ‘ख’ तर्फ ४८ हजार ३ सय ९८ जनाले मतदान गर्ने छन् ।

प्रदेशसभा सदस्य २ ‘ख’ मा जनता समाजवादी पार्टी नेपालको ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कल्याण खड्का, राष्टिय« जनमुक्ति पार्टीको नन्दकुमार लिम्बु, नेपाल संघीय समाजवादी पार्टीको प्रकाश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदिप राई, मंगोल नेशनल अर्गानाइजेशनको मोहनसिंह लिम्बु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको रमा मेचे र स्वतन्त्र हिराप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गर्नुभएको छ । समृद्ध प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रको विकास गर्न आफूहरु चुनावी मैदानमा आएको उम्मेदवारको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)