Aamsanchar

बीएण्डसीले ल्यायो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम  

Author Image
शनिवार, मंसिर ३, २०७९

बिर्तामोड बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।

आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ ।

बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

बीएन्डसी हस्पिटल र प्रभु इन्सुरेन्स लिमिटेडको सहकार्यमा यो बीमा लागू गरिएको हो ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाईँ र प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले शुक्रवार हस्पिटलको सभाहलमा एक कार्यक्रमबीच उक्त बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालभर यो बीमा कार्यक्रम लागू हुने तर उपचारका लागि बीएन्डसीमा नै आउनु पर्ने सम्झौतामा उल्लेख छ । बीमा गरेका परिवारका सदस्यले प्रभु इन्सुरेन्सको शाखा मार्फत देशभर जहाँसुकैबाट बीमा गर्न पाउने र उपचारका लागि नगद बोकेर अस्पताल जानु नपर्ने ‘ क्यासलेस सर्भिस’ उपलब्ध गराइएको प्रभु इन्सुरेन्सका बिर्तामोड शाखा प्रमुख नारायण लुइँटेलले जनाए ।
यो बीमा कार्यक्रममा बीमा गराउने, बीमाको पोलिसी दिने र उपचारको रकम भुक्तानी गर्ने आधिकारिक निकाय प्रभु इन्सुरेन्स लिमिटेड रहेको र बीएन्डसी हस्पिटलले अभिकर्ताको रुपमा बीमाका सदस्य बनाउने र बिना झन्झट उपचार सेवा प्रदान गर्ने हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन् ।
बीमा कार्यक्रमको प्रिमियम बुझाएका सदस्यहरूले तीन महिनापछि उपचार सेवा पाउनेछन् । हरेक वर्ष नवीकरण गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।

बीमा अन्तर्गत बीएन्डसी हस्पिटलको ओपीडी सेवा, इमर्जेन्सी सेवा, अन्तरंग सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा र शल्यक्रिया सेवा पाउने व्यवस्था छ । तर, औषधि भने बीमा कार्यक्रमबाट उपलब्ध नहुने गिरीले बताए ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी सहित देशभरबाट आगामी एक वर्षमा एक लाख परिवारलाई ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ कार्यक्रमको सदस्य बनाउने लक्ष्य राखिएको उनले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालको उपचार सेवा भने यो बीमा कार्यक्रममा समेटिएको छैन ।

हाल बीएन्डसी हस्पिटलमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू छैन । सरकारी स्वास्थ्य बीमा अन्तर्गत उपचारमा खर्च भएको करोडौं रकमको भुक्तानी दिन स्वास्थ्य बीमा बोर्डले आनाकानी गरेपछि बीएन्डसीले बाध्य भएर सरकारी बीमा कार्यक्रम बन्द गर्नुपरेको हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई बताउँछन् ।
‘आम नागरिकले सिफारिस, लाइन आदिको झन्झट बेगर बीमाको उपचार सेवा पाउन् सकुन् भनेर हाम्रै परिकल्पना अनुसार यो नयाँ  बीमा कार्यक्रम लागू गरेका छौं,’ प्रसाईँले भने– ‘आशा छ सबै क्षेत्रबाट सकारात्मक सहयोग र सद्भाव प्राप्त हुनेछ । एक वर्षको अनुभवपछि आगामी दिनमा बीमा अन्तर्गत पाउने उपचार सुविधाको दायरा अझ फराकिलो बनाउन हामी लाग्ने प्रतिबद्धता कार्यकारी प्रमुख  प्रसाईँले बताए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर