२१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताको मूल्याङ्कन गरेर संयुक्त राष्ट्र सङ्घको महासभामा नै २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षालगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन थालेको हो ।
हुन पनि टेलिभिजन अब विश्वमा सञ्चारको एउटा माध्यम बनेको छ जसले हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनै पनि निर्णय लिन सहयोग गरिरहेको छ ।
विश्व टेलिभिजन फोरम
सन् १९९६ मा पहिलो पटक विश्व टेलिभिजन फोरमको आयोजना पनि भएका थियो । यति बेला विश्वमा टेलिभिजन आविष्कार भएको ६९ वर्ष पुगिसकेको थियो । २१ वर्षका फिलो टेलर फन्सवर्थले पहिलो पटक सन् १९२७ मा टेलिभिजन आविष्कार गरेको मानिन्छ । अचम्म त के भने उनी १४ वर्षको हुँदासम्म उनको घरमा बिजुली नै थिएन । पछि उनी हाई स्कुलमा पढ्न थालेपछि चलिरहेको फोटोलाई पनि क्यामेरामा कैद गर्ने विषयमा सोच्न थाले र त्यसलाई नै विभिन्न माध्यमबाट एउटा साधनबाट अर्को साधनमा सार्ने प्रयास गरे । उनको यो प्रयासमा उनका साथीहरूको पनि निकै ठुलो साथ र सहयोग थियो ।
तर, टेलिभिजनको आविष्कार एक जनाको प्रयासबाट मात्र भएको होइन । त्यसैले टेलिभिजनका आविष्कारक को हुन् भन्ने प्रश्नमा एक जनाको मात्र नाम लिनु पनि उपयुक्त हुँदैन । चाल्र्स फ्रान्सिस जेन्किन्स, जोन लेगी बेयर्ड, केन्जिरो ताकायानागी फन्सवर्थसँगै लिइनु पर्ने तीन नाम हुन् जसले आज टेलिभिजन यो स्वरूपमा आउनुमा ठुलो भूमिका निर्वाह गरेका छन् । बेयर्डले बेलायतमा, फन्सवर्थले अमेरिकामा, ताकायानागीले जापानमा टेलिभिजनको विकासका लागि एउटै समयमा सोचेका थिए, एक दुई वर्षको हेरफेरमा टेलिभिजनको विकासमा सहयोग पुर्याएका थिए ।
सन् १९२७ मा पहिलो पटक कल्पना गरिएको टेलिभिजनलाई आजभोलि हामी छोटकरी रूपमा टिभीको नामले मात्र चिनिरहेका पनि हुन्छौँ । अब त नेपालका गाउँ गाउँमा पनि घरघरमा टिभी पुगिसकेको छ, केही ठाउँमा पुग्ने क्रम पनि जारी छ । जे होस्, सन् २०२१ मा आइपुग्दा धेरैले टिभीबारे सुनिसकेका छौँ, टिभी हेरिसकेका छौँ । पछिल्लो समय आमसञ्चार मा वा सूचनाका लागि पनि भिडियोको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा हामीले अब भिडियो हेरिरहेका हुन्छौँ । डिजिटल डिभाइसहरूमा यसरी भिडियो हामीले हेर्न अहिले पाउनुको कारण पनि सन् १९२७ मा टेलरले चलिरहेका दृश्यलाई एक ठाउँबाट अर्को ठाउँमा क्यामेराबाट खिचेर प्रसारण गर्नेबारे सोच्नु हो ।
‘टुडे टिभी’ नाराका साथ यो वर्ष विश्वभर टेलिभिजन दिवस मनाउन थालिएको छ ।
नेपालमा टिभी
अब लागौँ, हाम्रा पुराना दिनहरूमा । नेपालमा पहिले राणाहरूले आफ्नो दरबारमा सजाउनका लागि टिभी बेलायतबाट ल्याएका थिए भन्ने सुनिन्छ । २०४१ सालमा पहिलो पटक नेपाल टेलिभिजन सुरु भए पछि चाहिँ यसको व्यापकता बढ्न थाल्यो । अनि गाउँहरूमा ब्ल्याक एन्ड ह्वाइट टिभी पुग्न थाले, घरका छतहरूमा एन्टेना देखिन थाले । तर, यसको व्यापकता त्यस्तो भइसकेको थिएन कि घरघरमा टिभी होस् । त्यति बेला त पुरै गाउँमा एक जनाको घरमा मात्र टिभी हुन सक्थ्यो । अनि छानामा बुस्टरसहित झुन्डिएका अल्मुनियमका पाइपबाट बनेका एन्टेना । त्यस्ता एन्टेनाहरू यताउता सारेर, सिग्नल टिपेपछि झ्यारझ्यार भए पनि आउने टिभीका दृश्यहरू हेर्न मानिसहरू हतार हतारमा हुन्थे । धार्मिक प्रवचनका कार्यक्रम हुन् या केही सिरियलहरू आउने समय किन नहोस्, टिभीको सीमितताले सबैलाई समय र बार पनि कण्ठ हुन्थ्यो ।
अहिले त टिभीको स्वरूपमा पनि निकै परिवर्तन आइसकेको छ, घरको छतमा राखिने एन्टेनाहरू विस्थापित भएका छन्, घरघरमा टिभी पुग्न थालिसकेको छ । नत्र त्यति बेला श्याम श्वेत टिभी, च्यानलहरू फेर्न र हेर्न बटार्नु पर्ने गोलो घुम्ने बटन, टिभी हुँदा सम्पन्नताको परिचय हुने भएकाले पनि कतिले धान बेचेर टिभी किने, कतिले जग्गै बेचेर पनि टिभी जोडे । कतिपयको दाइजोमा टिभी हुँदा गर्वको महसुस गरियो ।
नेपालमा बिस्तारै टिभीले प्रभाव कस्तो छोड्न थाल्यो भने बालबालिकादेखि वृद्धवृद्धाहरु आफू अनुकूल कार्यक्रमहरू टिभीमा झुम्मिएर हेर्ने भए । घरमा हजुरबा हजुरआमाका लागि धार्मिक कार्यक्रम, बाहरूका लागि समाचार र समसामयिक तथा सिरियलहरू र बालबालिकाका लागि बाल कार्यक्रमहरू चर्चाको केन्द्रमा रहन थाल्यो ।
सन् १९८० र ९० को दशकमा हुर्किएका युवाहरूका लागि अहिले पनि ती दिन सम्झिने हो भने नेपाल टेलिभिजनमा शनिवार आउने फिल्म, कार्टुन, विश्व घटना र हिजोआजका कुराजस्ता सिरियलहरू अहिले पनि ताजै होलान् । विश्वकप फुटबल श्याम श्वेत टिभीमा हेरेको सम्झना अहिले पनि कतिपयमा होला । हामीले नै त हो, टिभी घरहरूमा आउन थालेपछि फेरि भिसिआर, डेक ल्याएर फिल्म हेर्न थालेको । अनि हिजो जस्तै लाग्दैन र सुपर म्यारियोजस्ता खेलहरूलाई पनि टिभीमा जोडेर खेलेको रु
तर, अब यी दिनहरू अतीत जस्तै लाग्छन् । यो स्वाभाविक पनि हो, अहिले त टिभी अब स्लिम भएको छ, सानो भएको छ र एउटा टिभीमा सयौँ च्यानलहरू आउन थालेका छन् । अनि टिभीमा आउने कार्यक्रमहरूको सङ्ख्या पनि निकै बढेको छ, कृषिसम्बन्धी कार्यक्रम मात्र होइन, स्वास्थ्यसम्बन्धी कार्यक्रम, योगा र समाचारहरू क्षण क्षणमा टिभीमा आइरहेका छन् ।
यही टिभीमा त हो हामीले देखेका केही अनुहारहरू पहिलो पटक, जो स्थापित भए, अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्छन् । उनीहरूका विचार र विमर्शका कार्यक्रमहरूले नै त हाम्रो समाजमा पनि प्रभाव पारिरहेका हुन्छन् । अनि हामीसँग सम्झनाहरू पनि पक्कै छन्, टिभी कार्यक्रमहरूका कारण नै हामीले हाम्रो स्वास्थ्यमा पार्ने असर र स्वास्थ्यलाई थप राम्रो बनाउन गर्नु पर्ने प्रयासबारे पनि थाहा पाएका छौँ ।
अब त हामीसँग पुराना टिभीका दिनहरू धेरै सम्झनामा रहनेछन् । किनकि विश्वमा मात्र होइन, नेपालमा पनि अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । अनि टिभीमा आउने कार्यक्रमहरू हामीले अब हात हातमा मोबाइलमा नै पनि हेर्न सक्ने भएका छौँ ।
टिभीको स्वरूप र तौरतरिकामा आएको यो परिवर्तनमा पनि अब हामी अभ्यस्त भइसकेका छौँ । यसबाट हामीले हाम्रो समाजलाई थप समुन्नत बनाउन सिकौँ, विश्वका घटना र सूचनाहरूबाट प्रेरित भएर अगाडि बढ्ने सिकौँ ।