Aamsanchar

नेपालमा आप्रवासन र एड्सको सङ्क्रमण

Author Image
बुधवार, मंसिर १४, २०७९

एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।

यस वर्षको नारा नै “Equalize” हो जसको अर्थ नै समानताको स्थापना भन्ने लाग्दछ ।

एचआइभी एड्सका बारेमा जनचेतना
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ । एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्‍याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एड्स कसरी सर्छ ?
एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । सङ्क्रमित रक्त दान अथवा ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआइभी
नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलाप कालागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण भएकाले नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआइभी सङ्क्रमितहरूले दर्दनाक र पशु वत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरू अझै पनि समाजमा सुन्न सकिन्छ ।

आज विश्व एड्स दिवसका दिन एचआइभी सङ्क्रमणले गर्दा मृत्यू भएका ती सम्पूर्ण सङ्क्रमितहरूको आत्माको चिर शान्ति कालागि दीप पनि प्रज्वलन गरिन्छ ।

नेपालमा आप्रवासन र एड्सको सङ्क्रमण
नेपाल र भारतको खुल्ला सीमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारी कालागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती यूवाहहरुलाई यौनजन्य सङ्क्रमण लगायत एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरूमा यो सङ्क्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात् जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ ।

थ्री जिरो
एचआइभीका कुरा गर्दा संसार भरिनै तिन वटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ :
प्रथम शून्यले एचआइभी सङ्क्रमितको मृत्युदर शून्यमा पूर्याउने
दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दर शून्यमा पूर्याउने
तेस्रोले एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पूर्याउने कटिबद्धता जनाउँदछ ।

नेपालमा एक दशक अगाडी सम्म एचआइभी एउटा महामारीका रूपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो सङ्क्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । बिस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरूको सहयोग अनि लगानीका कारणले नेपालीहरूमा एचआइभीको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गएर आजका मितिमा एचआइभी एउटा केन्द्रित महामारी अर्थात् कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो सङ्क्रमणको सम्भावना रहने र कूल जनसङ्ख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआइभीको जोखिममा धेरै भएका समूहहरूमा मुख्यतः
१, वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू
२, पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू
३, सुई द्वारा नशा सेवन गर्ने व्यक्तिहरू
४, असुरक्षित यौन कर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू रहेका छन् ।

एचआइभीसँग नजिकका मुद्दाहरू अनि यसका बहु आयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले टेकुमा विशेष रूपमा एचआइभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।

सुरक्षित यौन जीवन कालागि हरेक स्वास्थ्य चौकी र ओखती पसलमा कन्डम पाइन्छ भने बिस्तारै यौन, प्रजनन स्वास्थ्य, अधिकार तथा यौनजन्य सङ्क्रमणहरूमा खुल्लमखुल्ला कुरा हुन थालेको छ । स्कुलका पाठ्यक्रममा पनि यौनजन्य सङ्क्रमण र एचआइभीका कुराहरू पढाइनाले आउँदा पुस्ताहरू यस्ता जोखिमपूर्ण क्रियाकलापविरुद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीका बारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्‍यौँ, यौनजन्य सङ्क्रमणबाट सबै सुरक्षित रहौँ । श्रोत : हाम्रो पात्रो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर