Aamsanchar

आधुनिक युगमा दासताको तथ्याकं

Author Image
शुक्रवार, मंसिर १६, २०७९

आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

विश्वमा आधुनिक दासताको तथ्याकं
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।

यसै कुरालाई ध्यानमा राख्दै यस वर्षको नारा पनि ” Eradicating contemporary forms of slavery” राखिएको छ । आधुनिक समाजको दासता उन्मुलन गर्नका लागि विश्व समुदायलाई यस वर्ष अपिल गरिएको छ ।

नेपालमा दासता
अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँ गाउँमा पनि विभिन्न स्वरूपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।

नेपालमा केही वर्ष अघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गर्थ्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँमा पुर्‍याउन सकिने हो भने दासताका अनेक स्वरूपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर