Aamsanchar

कनकाईमा दोस्रो पटक पनि धनीपूर्जा वितरण हुन सकेन 

Author Image
शनिवार, मंसिर २४, २०७९

धनीपूर्जा पाउने आसमा नगरपालिका कार्यालय पुगेका कनकाई ८ का २० भूमिहीन परिवारका सदस्यहरू ।

कनकाई । झापाको कनकाई नगरपालिकाले धनीपूर्जा बितरण गर्न गरेको तयारी दोस्रो पटक पनि स्थगित भएको छ । नगरले शनिवार (आज) एक कार्यक्रमको आयोजना गरी कनकाई– ८ का २० घरपरिवारलाई धनीपूर्जा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

आम निर्वाचन अघि धनीपूर्जा वितरणको तयारी गरिएको थियो । सो समयमा निर्वाचन आचारसंहिता लागू भएपछि वितरण कार्य रोकिएको थियो । नगरले दोस्रो पटक पूर्व सूचना गरेर आज वितरण गर्ने तयारी गरेको थियो । 

तोकिएको मितिमा आज धनीपूर्जा बितरण गर्न नगरमा सर्वपक्षीय भेला बोलाइएको थियो । तर, निर्वाचन आयोगको आचारसंहिता फुकुवा नभएको भनेर राष्ट्रिय भूमि आयोग झापाले धनीपूर्जा उपलब्ध नगराएका कारण आज पनि धनीपूर्जा वितरण गर्न नसकिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । निर्वाचन आयोगसँग भने आफूले धनीपूर्जा वितरण गर्न अनुमति पाएको र आज धनीपूर्जा वितरण तयारी गरेको पोखरेलले आमसंचारलाई बताए ।

यता राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेले निर्वाचन आचारसंहिता फुकुवा नभै सकेकोले कनकाईमा धनीपूर्जा उपलब्ध नगराइएको बताएका छन् । झापामा ९० परिवारलाई धनीपूर्जा वितरण गरिसकिएको छ । बुद्धशान्ति गाउँपालिकामा ४२ र गौरादह नगरपालिकामा ५० जनालाई धनीपूर्जा उपलब्ध गराईएको पाण्डेले बताए ।

‘कनकाई नगरपालिकाले २ वर्ष देखि नक्साङ्कनको काम सुरु गरेको थियो । हाल सम्म अधिकांश काम सम्पन्न भइसकेको र नगरपालिकाले बनाएको धनीपूर्जा जिल्ला आयोगले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । आयोगले अब प्रमाणित गर्ने काम थालेको छ, अब  छिट्टै कनकाईका भूमिहीन परिवारलाई घर घरमा नगरपालिकाले धनीपुर्जा उपलब्ध गराउने’ नगर प्रमुख पोखरेलको भनाई रहेको छ ।

कनकाईकल्टु गाउँका भूमिहीनहरू नगरपालिकामा धनीपूर्जा लिन भनेर पुगेका थिए । तर जिल्ला आयोगले धनीपूर्जा नगरलाई उपलब्ध नगराएपछि भूमिहीनहरू रित्तो हात फर्किएका थिए ।

कार्यक्रममा कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालले आफ्नो वडा बाट धनीपूर्जा वितरण हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने नगरपालिकाले भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउन तदारुकताका साथ काम गरेको छ, प्रविधिक  कारण धनीपूर्जा वितरण कार्य ढिलो भएको बताए । अब आयोगले यथाशीघ्र भूमिहीनहरूलाई धनीपूर्जा उपलब्ध गराओस। हिजो निर्वाचनमा हामिले मुख्य रुपमा प्रतिवद्धता गरेको विषय पनि यही थियो, भूमि आयोगले गरेको ढिलासुस्तीको कारण जनप्रतिनिधिहरूले भूमिहीन परिवारको गुनासो दैनिक सुन्नु परेको छ ।  

कनकाई नगरपालिकामा ७ हजार ७८७ कित्ता र ७ हजार ९१ घरधुरी परिवारले धनीपूर्जा पाउने भएका छन् ।
जस अन्तरगत ३३७ भूमिहीन दलित,  ३ हजार ३२९ भूमिहीन सुकुम्बासी, ४ हजार ४२५ अव्यवस्थित बसोबास रहेको तथ्याङ्क नगरपालिकाले तयार पारेको छ ।
भूमि ऐनको आठौँ संशोधनले नगरपालिकालाई तथ्याङ्क संकलन, नापजोख र धनीपूर्जा बनाउने अधिकार प्रत्याभूत गरेको छ ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर