Aamsanchar

गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू ( पृथ्वी जयन्ती )

Author Image
बुधवार, पौष २७, २०७९

गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू
२०६२ र ६३ को जनआन्दोलन अगाडि राजसंस्थाको शासनकालमा काठमाडौँ सिंहदरबारको पश्चिम द्वारको पृथ्वी नारायण शाहको सालिकमा भव्य रूपमा मानिस भेला हुने र फूल माला अर्पण गरेर मनाइने चलन थियो । गणतन्त्रको सुरुवातसँगै राजसंस्था अनि राज धरोहरप्रतिको अकस्मात् वितृष्णाले केही महत्त्वपूर्ण चलनहरू पनि बगाएर लगेको छ । चाहे त्यो दशैँघरमा गोर्खाबाट ल्याइने फूलपाती होस् या पृथ्वी जयन्ती होस्, नेपाली सभ्यताका ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरूले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरूका दस्ताबेजले नेपाल अनि देशको सुशासन प्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।

‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’

‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’

यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

पृथ्वी नारायण शाहको कुरा गर्दा यिनका साहसी सेनानीहरू कालु पाण्डे लगायतलाई इतिहासले बिर्सन हुँदैन ।कीर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीर गति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात् ससम्मान काठमाडौँ थानकोट नजिक इन्द्र दहमा उनको समाधि अझै पनि त्यही ठाउँमा रहेको छ । आधुनिक नेपालको खाका कोर्ने यिनै राजाले नै गोर्खामा देखेको काठमाडौँको सपनालाई सिङ्गो नेपालमा रूपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रादुर्भाव गरेका हुन् । विक्रम संवत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्ततिका शासकहरूले विक्रम संवत् २०६३ को जनआन्दोलनको माग अनुरूप शासन सत्ताबाट अपदस्थ गराई गणतन्त्रात्मक नेपाल स्थापित गराइएको हो ।

पृथ्वी नारायण शाहका सालिकहरू नेपालका धेरै सहरहरू अनि चोकहरूमा छन् । प्रायः चोर औँला माथि उठाएर उभिएका स्वरूपमा देखिने यिनको सालिक तथा तस्बिरले नेपाली जनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाडौँ र गोरखा बिचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौँ छिरेका यिनले काठमाडौँको उत्तरपट्टि रहेको चन्द्रागिरि डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठमाडौँको सौन्दर्यले पृथ्वी नारायण शाहलाई लालहित बनाएको थियो । रण कौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनीतिहरू लगाएर क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भूभागहरू जितेका हुन् । परराष्ट्र मामिलामा पनि यिनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।

भक्तपुरको राजपरिवारसँग मितेरी साइनो
भक्तपुरको राजपरिवारसँग मितेरी साइनो गाँसेर पनि आक्रमण गरी विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाह माथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा सम्बन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रूपमा सदैव नेपाली हृदयमा रहनेछन् ।

युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले कीर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि कीर्तिपुरबासीले पुराना क्रूरताका कथाहरू भन्दछन् । जे होस् आधुनिक नेपालका यी रचयिताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरू समक्ष एकता र मेलमिलाप मिश्रित अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतिखेर नेपाली एकताको कसरतमा हार मानेका या विफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन ।

सदन अनि सडक दुवैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको विकेन्द्रीकरण नाराहरू छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिँकतै देश अनि देशवासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ ।

राष्ट्रिय एकता दिवस
आजको दिनलाई राष्ट्रियताको एउटा ऐतिहासिक आयाम दिँदै देशैभर राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाइने गरिन्छ । हरेक वर्षको पृथ्वी जयन्तीले राष्ट्रिय एकता दिवसका रूपमा सबै नेपाली जनलाई ऐक्यबद्ध हुन सन्देश दिने गर्दछ । बि सं २०७९ सालको राष्ट्रिय एकता दिवसमा सबैलाई हार्दिक स्वागत र अर्थपूर्ण शुभकामना ।

देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन, यहाँ पाइलाहरू मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरू आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडाबाट हामी सबैलाई नियाल्दै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर