Aamsanchar

रमणीय लुकुम गाउँ

Author Image
बिहिवार, माघ ५, २०७९

बागलुङ : अग्लो पहाडको फेदमा छ पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँ। बाक्लो बस्ती, मौलिक भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। एक दशकअघिसम्म लुकुम गाउँ सुनसान थियो। जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो।
लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्त्वपूर्ण गन्तव्य बन्यो। लोकमार्गले स्थानीय बासिन्दालाई​ सहज बनाएको त छ नै गाउँलाई पर्यटकीय गन्तव्य बनाएको छ।

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सर्यौँ आन्तरिक पर्यटक पुग्छन्। तीन वर्ष अगाडि लोकमार्ग कालोपत्रे भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ। सडकको सहज पहुँच तथा रुकुम र बागलुङदेखि नजिक पर्ने हुँदा बागलुङ, पूर्वी रुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुन मगरले बताए।

‘सडक आएपछि त निकै सजिलो भयो। पहिले यहाँ यही गाउँ मात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ। अहिले धेरै ठाउँबाट मान्छेहरु घुम्न आउँछन्’,  उनी भन्छन्, ‘हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्। यहाँ धेरै जसो पुराना घर मात्रै छन्। पर्यटक यही घर मन पराउँछन्।’

लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुन मगर बताउँछन् । धेरै मान्छे आफ्नो गाउँमा घुम्दै आउँदा खुशी लागेको उनले बताए । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उनको भनाइ छ।

‘पहिले नुन, तेल र चामल ल्याउन एक साता लागेर दाङ तुल्सीपुर पुग्थ्यौँ। त्यति बेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो। तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो’, मगर भन्छन्, ‘अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्। केही मान्छ त एक/दुई दिन बसेर घुमेर जान्छन् ।”

स्थानीय सुनकुमारी पुन मगरले सडकले गाउँले जीवनमा ठूलो परिवर्तन ल्याएको बताइन्। पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको र घुम्न आउनेले स्थानीय उत्पादन किनेर लैजाँदा गाउँलेको आयआर्जनमा टेवा पुगेको उनले बताइन्।

‘यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छेहरु सामान किनमेले गर्न, केटाकेटीहरु पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे। गाउँमा उत्पादन भएका सिमी आलु बाहिर जान पाउँदैनथ्यो’, उनले भनिन्, ‘अहिले घुम्न आउनेहरूले पनि विशेषगरी सिमी किनेर लैजान्छन्। अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्। गाउँमा बुनेका कोक्रो, डालो र नाङ्लोसमेत किनेर लग्छन्।’

अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको संख्यामा कमी आएको बताए। उनले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बुढापाका मात्रै हुने गरेकोमाअहिले बजारमा व्यापार–व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताए।

आफूहरूका कामलाई पनि बाहिरबाट आउनेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताए। गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिन सके धेरै पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।

‘यो सडकमा दैनिक धेरै गाडी गुड्छन्। त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्। उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दो रहेछ’, उनी भन्छन्, ‘धेरैजसोले घरमा आएर तान बनाई, रौँ प्रशोधन गरेको हेर्छन्। कोही त बारीमा पनि पुगेर काम गरेको चासोपूर्वक गर्छन्।’

बागलुङकामिलन बुढा मगरले लुकुम गाउँमा आफू चार पटक घुम्न गएको बताए। एकैनासले मिलेर बनेका घर र यहाँको मौलिक संस्कृति र रहनसन अनुभव गर्न पटक–पटक गएको उनले बताए। अहिले लोकमार्ग कालोपत्रे भएपछि यहाँ पुग्न सहज भएको उनले बताए। यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन विदेशीका लागि पनि निकै आकर्षक गन्तव्य बन्ने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर