Aamsanchar

शालीनदी मेलामा केही व्यापारीको लुटतन्त्र, स्थानीय सरकारको अनुगमन संयन्त्र के गर्दै छ ? 

Author Image
मङ्गलवार, माघ १०, २०७९

श्री स्वस्थानी ब्रतकथा । आस्तिकहरुका लागि श्री स्वस्थानी स्वयम् नै जीवनको एक महत्वपूर्ण अध्याय हो । श्री स्वस्थानीप्रति आस्था राख्नेहरुका लागि यो कथा नै पूर्व बेद हो, जीवन सिकाउने पुस्तक हो, प्रेम बुझाउने उपन्यास हो, लगाव पढाउने ग्रन्थ हो, श्री स्वस्थानी ब्रत कथा फगत कथामात्र होइन, जीवन सिकाउने स्वर्णकथा हो । नास्तिकहरुका लागि यो मात्र एउटा कथा हुन सक्छ, तर भगवानप्रति विश्वास गर्नेहरुका लागि स्वस्थानी आस्थाको पुञ्ज हो । र त एक महिनासम्म कठोर ब्रत बस्छन्, स्वस्थानीका अनुयायीहरु ।
र जव जव स्वस्थानी ब्रत कथा आरम्भ हुन्छ, अर्थात पौष शुक्ल पूर्णिमाका दिन देखि माघ शुक्ल पूर्णिमासम्म देशभरका शिवालयहरुमा धर्मावलम्बीहरुको ठुलो भीड लाग्छ । र त्यहाँभन्दा बढी भीड लाग्छ शालीनदीमा, जहाँ ! महिनासम्म ठुलो मेला लाग्छ । देशभरका भक्तजनहरु शालीनदीको मेला भर्न आउँछन् । तर हरेक कुरामा बिजनेश गर्न पल्केकाहरु शालीनदी मेलालाई पनि धार्मिक मेलाभन्दा बढी व्यवसायीक मेला बनाईरहेका छन् । राम्रोसँग, इमान राखेर व्यवसाय गर्नु त केहि भएन, तर यहाँ त भगवानको आडैमा धर्मका नाममा लुट्नेहरु छन् । बर्षभरी कतै नबिकेका समानहरु बेच्न, कुराउनीमा बिस्कुट मिसाएर खुवाउन, समोसा र जेरीको पर्नेभन्दा ३ गुणा बढी पैसा लिन, अस्वाभाविक महँगो व्यापार गर्न, धर्म कमाउन आएकाहरुको पर्श चोर्न यो मेला चर्चित छ । अझ यसपाली त अहिलेसम्मकै कमजोर व्यवस्थापन र अहिलेसम्मकै विवादित व्यवस्थापनका बीच मेला चलिरहेको छ ।र यसपाली ग्राहकले आफु ठगिएको गुनासो खुलेआम राख्न थालेका छन् ।
यसो भन्दैमा फेरी सबै व्यवसायीले शालीनदीमा लुटेका मात्र छन् भन्ने होइन । खुवा बेच्ने, तितौरा बेच्ने, अन्न बेच्ने, समोसा तरकारी लगायतका खाजा बेच्ने, फूलमाला बेच्ने सबैले गलत गरेका छन् भन्ने होइन । तर केहि खराब व्यवसायीहरुले जनता लुट्दा, शालीनदीमा व्यवसायीहरुले ग्राहक लुटेका छन् भन्ने हौवा फैलाइएको छ । हुन पनि केहि व्यवसायीले त लुट्नसम्म लुटिरहेका छन् शालीनदीमा ।

खाजामा अस्वभाविक महंगी
यदी तपाईं शालीनदीमा गएर दर्शन गरिसकेपछि खाजा खाँदै हुनुहुन्छ भने सचेत रहनुहोला । मेनुमा एउटा लेख्ने अनि बिल तिर्ने बेलामा दायाँबायाँ गर्नेहरु त्यहाँ प्रशस्तै छन् । खाजा खाईसकेपछि के के खाएको र कति पैसा भयो भन्ने हाम्रो हिसाब किताब गर्ने बानी हुँदैन । खाईसकेपछि कति भयो दाई ? भनेर सोध्यो, दाईले जति भने त्यति दियो । दाईले २ जेरी खाँदा ! जेरी थपेर तीन जेरीको हिसाब गरेको पत्तो नै हुँदैन धेरैलाई । त्यसैले सचेत रहनुहोला ।
हुन त शालीनदी व्यवस्थापनले स्पष्टसँग खाजा पसल अगाडी मेनु राख्नुपर्ने नियम बनाएको छ । यो नियम पनि सबैले पालना गरेका छैनन् । मेनु झुण्ड्याउनेहरुले पनि देखाउने मेनु एउटा र लिने मूल्य अर्को गरिरहेका छन् । अव कसैले सोध्यो, हिसाब बिग्रेको पक्रियो भने, ओहो ! हतारमा बिग्रेछ नि दाई भन्यो, पैसा फिर्ता दियो, उम्कियो । नसोध्नेहरुलाई, सोझाहरुलाई ठग्यो, बस्यो ।

खाजामा गुणस्तरहीन वस्तुको प्रयोग
अर्को महत्वपूर्ण कुरा के हो भने, सबै खाना-खाजाको मूल्यमा मात्र केन्द्रित भएका छन्, शालीनदी वरपर बेचिने खाजा खानाको गुणस्तरका बारेमा कसैले ध्यान दिएको छैन । शालीनदी परिसरमा बेचिने समोसा धेरै ठाउँमा अघिल्लो दिनको बासी समोसा बेचिएको छ । सेल पुरी पकाउने तेल गुणस्तरहीन प्रयोग गरिएको छ । यसले एकातर्फ जनस्वास्थमाथि खेलबाड भईरहेको छ भने अर्कोतर्फ राम्रो तरिकाले मेलामा ब्यापार गर्नेहरुलाई पनि मर्का परेको छ ।

खुवामा मिश्री र बिस्कुटको प्रयोग
शालीनदी मेला भर्न जाने धेरैले त्यहाँ रुचाउने र किन्ने परिकारको खुवा । कतिपय व्यवसायीहरुले शालीनदीमा त्यहीं नै पकाएर तातोतातो र ताजा खुवा पनि बेचिरहेका छन् । दुध नै त्यहीं तताएर देखाउनेहरु पनि छन् । तर यो भीडमा कतिपय व्यापारीले खुवामा बिस्कुट मिसाएर खुवाको दाममा बिस्कुट बेचिरहेका छन् । कतिपयले खुवा गुलियो बनाउन मिश्री प्रयोग गरिरहेका छन् । तर यस विषयमा कसले खोज्ने ? कसले सोच्ने ?

तितौरामा केमिकल
विशेषगरी महिलाहरुलाई सार्है मन पर्ने चीज हो तितौरा । देख्दै मुखमा पानी आउने, हेर्दा पनि खाउँ खाउँ लाग्ने, अमिलो, पिरो तितौरा समझदा त मुखमा पानी आउँछ भने अगाडी मुखै रसाउनेगरी राखिएको तितौरा देख्दा कसको मुखमा पानी नआउला र ! तर धुलो महिलोको प्रवाह नगरी राखिएका त्यस्ता तितौरा कहिले बने ? के के राखेर बनाइए ? त्यसको लेखाजोखा कसले गर्छ रु अझ कतिपयले त पिरोको नाममा खुर्सानी होइन, केमिकल राखेर तितौरा पीरो बनाईरहेका छन् । जसले अहिले पीरो खानेहरुलाई भोलि नमज्जासँग पिरोल्ने खतरा बढेको छ ।

अन्नमा पनि ठगि
शालीनदी मेलामा अर्को बढी बिक्री हुने चीज हो अन्न । विभिन्नथरीका दाललगायतका अन्नहरु शालीनदीमा बिक्री हुन्छन् । तर सरकारले तोकिदिएको भन्दा बढी मूल्य लिंदा पनि कसैले यस विषयमा बोलेको छैन । सस्तो भनेर शालीनदीमा शपिङ गर्नेहरु झन् महँगोमा परिरहेका छन् । त्यहीं जाँतो राखेर बेचेको देख्दा किन्नेहरुले किनिहाल्छन्, तर कतिपय व्यापारीले त दालमा रंग दलेरसमेत बेचिरहेका छन्, हामी सबै सचेत हुन जरुरी छ।

कपडा र खेलौना झन् ‘थर्ड क्लास’
शालीनदीमा केटाकेटीका लागि बेचिने खेलौना त थर्ड क्लासकै हुने गरेका छन् । बर्षभरी कतै नबिकेका, अन्तबाट फिर्ता भएका खेलौनाहरु मेलामा राखिएका छन् । बच्चा न हुन्, खेलौना देखेपछि चाहिहलायो । बच्चालाई चाहिएपछि किन्नुपरिहाल्यो । तर विहान किनेको खेलौना बेलुकीसम्म नै बिग्रिहाल्छ । सचेत हुनुहोला है ।
शालीनदीमा बिक्री हुने महिलाहरुका कपडा, कस्मेटिकका सामानहरुको हालत पनि बिजोग छ । बर्षभरी कतै नबिकेका, फिर्ता भएका, गोदाममै सड्न खोजेका, डेट एक्सपायर हुन लागेका सामानहरुलाई मेलामा सस्तो सस्तो भन्दै बेचिरहेका छन् व्यापारीहरु । दुई दिन पनि लगाउने नहुने कुर्ता, हानिकारक र डेट एक्सपायर भएका मेकअपका समानहरु लगायतका सामाग्रीहरुको स्टक क्लियरेन्स भईरहेको छ शालीनदी मेलामा ।
यी त भए सधैं देखिने व्यापार, अव कहिलेकाहीं देखिने तर देख्दा पनि लाज लाग्ने व्यापारका कुरा गरौँ । तपाईंलाई सुन्दा अचम्म लाग्छ होला, शालीनदीमा त्यस्ता माग्नेहरु पनि छन्, जसको ठेक्का नै माग्ने हो । दिनभरी माग्यो, बेलुकी जम्मा भएको रकम ठेकेदारलाई बुझायो । चामल बेच्यो अनि पाएको पैसाले मोज गर्यो । शालीनदीमा एक महिनाभरीका लागि ठेकेदारले खटाएका यस्ता नक्कली पीडीतका कारण सहि अर्थमा माग्नेहरु समस्यामा परेका छन् । माग्नुबाहेक केहि विकल्प नरहेर नारकीय जीवन बिताईरहेका माग्नेहरुलाई यसले समस्यामा पारेको छ । तर बुझ्ने कसले, सोच्ने कसले ? खोज्ने कसले ?
अव व्यापारसँगै शालीनदीमा देखिएका केहि नमीठा दृश्यहरुबारे कुरा गरौँ । २१औँ शताब्दीको यो युगमा अझैपनि शालीनदीमा देखिने केहि दृश्यहरुले शिक्षित भनिएको समाजलाई अझै गिज्याईरहेको जस्तो लाग्छ । जस्तो एक उदाहरण हेरौं । शालीनदीमा माथि नुहाउने बाँध बनाइएको छ । त्यहाँ विहानैदेखि भक्तजनहरु नुहाईरहेका हुन्छन् । नुहाउनु भनेको शरिरको फोहोर पखाल्नु पक्कै हो । तर त्यहि पानी तल केहि भक्तजनहरु जल मानेर खाइरहेका छन् । के यो स्वास्थ्यका लागि हानीकारक कुरा होइन र ?

पुरोहितलाई ‘व्यवसायीको बिल्ला’
अर्को अचम्मको दृश्य माइकिङमा देखिन्छ । पूजारी आफैंमा एउटा गर्विलो पेशा हो । भगवानमाथि आस्था राख्ने जो कोहिले पनि स्वस्थानीको पूजा गराउने गुरुलाई आदर गर्छन् । तर शालीनदी पुग्दा त्यहाँका पूजारीले माइकिङनै गरेर भक्तजनहरुलाई यसो गर्नुस् वा नगर्नुस भन्ने ठाडो भाषामा थर्काईरहेका हुन्छन् । त्यहाँ पुग्ने केटाकेटीले यसबाट के सिक्लान् ? गुरुको भाषा त्यति ठाडो हुन्छ र ? आस्था बोकेर शालीनदी परिसर पुगेकाहरुले गुरुले भनेको मान्दैनन् होला र ? सुन्दा सामान्य तर गम्भीर विषय हो यो ।
अझ अचम्मको कुरा त के हो भने शालीनदी मेलामा ‘पुरोहित’ लाइ व्यवसायीको ‘बिल्ला’ भिराईएको छ । शालीनदी परिसरमा बसेका पुरोहितले गलामा ‘व्यवसायी परिचयपत्र’ भनेर कार्ड झुन्ड्याएका छन् । के यो ठिक भयो र ? हिन्दु परम्परामा पुरोहितको खुब मान गरिन्छ । यिनीहरुलाई व्यवसायी भन्न मिल्यो र ? सपुरोहित परिचयपत्र’ भनेर दिएको भए के बिग्रन्थ्यो र ? टिका लगाउन गएकाहरुले उनीहरुको गलामा झुन्डिएको ‘व्यवसायी परिचयपत्र’ लेखिएको कार्ड देखेर के बुझ्ने ? अझ अर्को खास कुरा त के छ भने यस्ता पुरोहितबाट व्यवस्थापन समितिले समेत कमिसन लिने रहेछ । अव आस्थामा पनि कमिसन तिर्नुपरेपछि पुरोहितको काम पनि जागिर भएन र ? गएन त धर्मकर्म खोलामा ?
मेनुको कुरा त अघि पनि गरियो । व्यवस्थापन समितिको आडमा शालीनदी परिसरमा राखिएका पसलहरुमा महँगो मेनु देखिन्छ । मन्दिर परिसरभन्दा बाहिर २५ रुपैयाँ सम्ममा पाइने एउटा समोसाको मूल्य धार्मिकस्थलमा ४० हुनु जायज भयो र रु एउटा रोटीको ५ रुपैयाँ, एउटा जेरीको ३० रुपैया, दुध हालेको चियाको ३० रुपैयाँ जायज हो र ? अरु त अरु, एउटा सेलरोटीको मूल्य ४० रुपैयाँ हुनु जायज हो र ? यो त धर्मका नाममा महँगो व्यापार भएन र ?
यी दृश्यले जस्तो अर्थ राखेपनि आम नागरिकलाइ भने पक्कै अपाच्य हुनुपर्छ । आजको युगमा धर्मका नाममा आफ्नो पतिको खुट्टाको पानी खाना छोडिएको सन्दर्भमा अरुले नुहाएको पानी खानु स्वास्थ्य र धार्मिक हिसावले पक्कै राम्रो होइन । पुरोहित व्यवसायी त हुँदै होइनन् । यति महँगो मेनु धार्मिक स्थलमा राखिनु राम्रो कुरा पनि पक्कै होइन । र माइकिङ गरेर भक्तजन तह लगाउन खोज्नु पक्कै शोभनीय काम होइन ।
मेलालाई मेलाकै रुपमा भव्य बनाउँ । सभ्य बनाउँ । मेला व्यवसायीकै कारण बदनाम हुँदा मेलामा व्यवसाय घटेको छ । यस कुरामा ध्यान दिउँ । राम्रो समान बेचौं, धेरै बेचौं अनि मज्जाले नाफा कमाउँ न होइन र ? अनि व्यवस्थापन समितिको काम चाहिं यीनै लुट्न पल्केकाहरुसँग कमिसन मात्र लिने हो कि सहि अर्थमा व्यवस्थापन पनि गर्ने हो ? अलि गम्भीर भएर सोचौं है । किनकि लुट्नेहरुलाई जरुर पाप लाग्छ । स्वस्थानी ब्रत कथा यो तथ्यको स्वयम् गतिलो साक्षी हो । साभार: अर्थ सरोकार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर