Aamsanchar

मुखको क्यान्सर धेरै देखियो युवामा

Author Image
आइतवार, माघ १५, २०७९

काठमाडौं – पछिल्लो समय क्यान्सर रोगीको संख्या अनपेक्षित बढेको छ । अव्यवस्थित जीवनशैली, खानपान र समयमै सचेतता नअपनाउँदा यो रोगले धेरैको ज्यान लिएको छ । तर, बेलैमा रोग पहिचान गरी उपचार गर्न सकियो भने क्यान्सरलाई जित्न सकिन्छ ।

पछिल्लो समयमा जन स्तरमै क्यान्सरको बारेमा जानकारी हुने हुँदा क्यान्सरको आशंकामा अस्पताल जाने र क्यान्सर भएपनि उपचार गराउनेको संख्या बढ्दो रुपमा रहेको छ । नेपालमा वर्षेनी २६ हजार हाराहारीको संख्यामा नयाँ विरामी आउने तथ्याङक छ । तर, विश्वमा प्रत्येक वर्ष १ करोड ८० लाख भन्दा बढीलाई विभिन्न क्यान्सर हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको छ ।

नेपालमा प्राय पाठेघरको मुखको, स्तन क्यान्सर, रक्त क्यान्सर तथा युवा पुस्तामा मुखको क्यान्सर देखिने गरेको छ । बंसाणुगत, खानपान र खराब जीवन शैलीका कारण क्यान्सर हुने गरेको पाइन्छ । नसर्ने रोग मध्ये खतरा मानिने क्यान्सरका कारण वर्षेनी नेपालमा हजारौंको संख्यामा मृत्यु हुने गरेको तथ्याङ्क छ । महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर धेरै देखिने गरेको क्यान्सर रोग बिशेषज्ञ डा. अरुण शाही बताउनुहुन्छ । उहाँले पछिल्लो समय युवामा मुखको क्यान्सर हुने गरेको डा. शाही बताउनुहुन्छ । उहाँले धेरै धु्रमपान, सुर्ति खाने युवाहरुलाई मुखको क्यान्सर देखिएको बताउनुहुन्छ ।

स्कुले जीवनदेखि नै धूमपान, मद्यपान, जंग फुड तथा प्रदूषणलगायतका कारण क्यान्सरको जोखिम हुने गर्दछ । त्यस्तै, ५ देखि १० प्रतिशतसम्म देखिने क्यान्सर बंशाणुगत रहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ ।

नेपालमा ५० वर्ष बढी उमेर समूहमा क्यान्सरको प्रकोप देखिन्छ । त्यस्तै, सानै उमेरबाट नै क्यान्सर हुने अवस्था रहने पनि चिकित्सकहरु बताउँछन् । क्यान्सर सुरुवाती चरणमा पत्ता लाग्न समस्या हुन्छ भने लक्षण देखिदासम्म दोस्रो तेस्रो चरणमा पुगिसकेको हुन्छ । जति क्यान्सर अन्तिम चरणमा पुग्छ, निको हुने दर उति नै कम हुन्छ । जसमा घाँटी र महिलाको स्तन क्यान्सर भने पहिलो चरण नै थाहा पाउन सकिने र उपचार छिटो सुरु हुने हुँदा निको हुने सम्भावना बढी हुन्छ । सुरुमा नै क्यान्सर रोग पत्ता लाग्यो भने उपचार गरेपछि निको हुने डा. शाही बताउनुहुन्छ ।

क्यान्सर लागेपछि सन्चो नै नहुने तथा उपचार निकै महंगो हुने भन्ने भ्रमका कारण यो रोग देखिएपनि उपचार नगर्ने पनि उतिक्कै छन् । केहि वर्षअघि नेपालमा क्यान्सरको उपचार महँगो भएपनि अहिले नेपाल सरकारले यस्ता विरामीका लागि १ लाख रुपैयाँ सहयोग दिन थालेपछि विरामीले केही राहत महसुस गर्न थालेका छन् । नेपालमा क्यान्सर भएका ८० प्रतिशतले उपचार गराउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर