Aamsanchar

विष्णु भगवानको कृपा । राशिफल २०७९ माघ १९ गते बिहीवार

Author Image
बुधवार, माघ १८, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश÷परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर/परिवारमा रमाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । घरपरिवारबाट सुखद समाचार आउनेछ, घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्छ । आज प्रतियोगी र प्रतिस्पर्द्धी पनि कमजोर रहनेछन् । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 524

प्रतिक्रिया (०)

सम्बन्धित खबर