Aamsanchar

बिप्लब माओवादीद्वारा विकृति विसंगति विरुद्ध झापाबाट जनकारवाही सुरु गर्ने चेतावनी 

Author Image
शनिवार, माघ २१, २०७९

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले झापा जिल्लालाई प्राथमिकतामा राखेर  विकृति विसंगति विरुद्ध खबरदारी र भौतिक प्रतिकार समेत गर्ने चेतावनी दिएको छ ।

विगत देखि वर्तमान सम्म राजनीतिक, आर्थिक, सिमा अतिक्रमण, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटको क्रममा पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही, मेची इन्चार्ज सुमन सिंहलगायतका नेताले जनताका जनजिविकाका विषयमा सरकार गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।

पार्टीका मेची व्यूरो इन्चार्ज सिंहले पछिल्लो समय केही व्यक्तिले राजतन्त्र, मिटरब्याज लगायतका विषय उठान गरे झैँ गरेर पश्चिमा शक्तिको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै भ्रमको खेती नगर्न चेतावनी समेत दिएका छन् । उनले ठगी र तस्करी गर्नेहरूलाई जनताको साथमा चोक चोकमा ल्याएर जनकारवाही गर्ने उल्लेख गरे ।

पत्रकार भेटघाटमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले देशमा भ्रष्टचार, अराजकता, स्वेच्छाचारिता, महँगी र बेरोजगारी बढिरहँदा पनि सरकार मौन बसेको भन्दै वर्तमान सरकार विदेशीको इसारामा चलेको आरोप लगाए । उनले यो व्यवस्था नै धेरै समयसम्म नटिक्ने दावी गरे । अझै ३४ जना नेता तथा कार्यकर्ता जेलमै रहेको भन्दै अघिल्ला सरकारसँग भएको सहमतिलाई वर्तमान सरकारले निरन्तरता दिदैँ तुरुन्त नेता तथा कार्यकर्तालाई छोड्न माग पनि गरेका छन् ।

बरहीले राजतन्त्र इतिहासमा सीमित भएको र वर्तमान संसदीय व्यवस्था सहितको संघीयता धेरै समय नटिक्ने भएकाले अब साम्यवादी व्यवस्था लागू हुने धारणा राखेका थिए । बिभिन्न बहानामा जनतालाई भ्रमित बनाउँदै जनतालाई शासन गर्न पल्किएका हरुबाट चनाखो हुनु पर्ने उनको भनाई थियो ।

पछिल्लो राजनीति घटनाक्रम वित्तीय व्यवस्थामा देखिएको अस्थिरता, सिमा अतिक्रमण, लागू औषध कारोबार तथा तस्करी, स्वास्थ्य र शिक्षामा भइरहेको अराजकता रोक्न भन्दै नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले नौ बुँदे विषयहरू उठान गरेर जनतामा जाने घोषणा गरेको छ ।

नौ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका मेची व्यूरो इन्चार्ज सुमनले मेची ब्युरोको माघ २० गते दमकमा सम्पन्न बैठकले राजनीतिक, सांगठनिक, आर्थिक संघर्ष, संस्कृतिका, भारतीय सिमा क्षेत्रमा भइरहेका अतिक्रमण लगायतका विषयमा जनजागरणका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बताए ।

महँगी र कालोबजारीले जनताको ढाड सकिरहँदा पनि स्थानीय निकाय र प्रशासनिक क्षेत्र रमिते बनेको भन्दै त्यस विरुद्ध नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० ले अब जनकारवाही गर्ने उद्घोष गरेको छ ।

झापा सहित इलाम, पाँचथर र ताप्लेजुङमा जनजागरणका कार्यक्रमलाई अघि बढाउँदै कारवाही प्रक्रिया अघि बढाउने मेची व्यूरो प्रमुख सिंहको भनाई छ । पत्रकार सम्मेलनमा इलाम इन्चार्ज मौसम सि, केन्द्रीय सल्लाहकार विद्रोही सि लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन झापा इन्चार्ज प्रशान्त सिले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर