Aamsanchar

इजिप्टको राजधानीमा नेपाली मौलिक कला प्रदर्शनी

Author Image
शुक्रवार, फागुन १२, २०७९

काठमाण्डौ – इजिप्टको राजधानी कायरोको जमालेकमा रहेको इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोमा रहेको नेपाली राजदूतावासद्वारा गएको बुधवार र बिहीवार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्य–दृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा झन्डै तीन सय ७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।

प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण गरिएको थियो भने त्यस कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्‍याएका थिए । इजिप्टमा झन्डै तीन सय जनाको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।

प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलङ्का, फिलिपिन्स, अस्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्यान्ड, घानालगायत देशका पर्यटन प्रवर्धनसम्बन्धी कक्ष राखिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर