Aamsanchar

नेपालमा यो वर्ष खाद्य संकट हुनसक्ने विज्ञकाे चेतावनी

Author Image
शुक्रवार, वैशाख २२, २०८०

काठमाडौं : विज्ञहरूले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका हुन्। नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन्।

विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरू सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए।

उनले गहुँ, धान, मकै लगायतका बालीहरूमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउन सक्ने भन्दै समयमा नै पूर्व तयारी गर्न सरकारलाई सुझाव दिए। उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए।

यस वर्षको वर्षायाममा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरू घट्ने बताए। उनले दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आँकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। विज्ञ डा. उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गरे।

यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताएको छ। बिहीवार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोवन्दप्रसाद शर्माले मौसमविद्हरूको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको बताए। उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताए। उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिंचाईमा विशेष जोड दिनुपर्ने देखिएको बताए। ।

‘रेनफल पहिलाको भन्दा जुन हाम्रो प्रडिक्टेभ एभ्र्रेज छ, त्यो भन्दा स्टाब्लिस एभ्रेज डेटा त्यो भन्दा बढी हुन्छ भनेको छ, त्यो ४५ देखि ५५ प्रतिशत भनेको छ। केही भुगोलहरूमा ३५ देखि ४५ प्रतिशत हायर हुन्छ, समग्रमा भनिएको छ। एभ्रेज टेम्पे्रचर हायर हुन्छ र एभ्रेज मिनिमम टेम्प्रेचर पनि विगतको हायर हुन्छ भनेपछि अब किसानलाई धान रोप्ने समयमा आकाशे खेती गर्नेहरूलाई थोरै हिट गर्छ। नदीलाई हामीले हेर्नुपर्छ भन्नेकुरामा हाम्रो ध्यानाकर्षण भएको छ’, उनले भने, ‘हामीले धान रोप्न पाइयो भनेपनि त्यसपछि थप काम हुँदै जान्छ। मौसमी अन्नबाली र मकैहरूमा समेत लगानी बढाउनुपर्छ भन्ने अनुमान हाम्रो छ। पूर्वसूचना प्रणालीको विकास सबै पालिका स्तरमा हुन जरुरी छ।’

सचिव शर्माले सरकारले सबै पालिकाहरूमा मौसमबारे पूर्व सूचना प्रणाली बिस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर