Aamsanchar

सन्दीपले विश्वकप छनोट खेल्ने पक्का, भोलि जानेछन् दक्षिण अफ्रिका

Author Image
आइतवार, जेठ २१, २०८०

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने भएका छन् ।

बालात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्ने निश्चित बनेको हो ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनलाई असार २९ को साधारण पेसी दिइएको बताए । “आज अदालतले असार २९ का लागि साधारण पेसी तोकिएको छ । सुनुवाइ पेसी अहिले तोकिएन,” सापकोटाले भने ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्ने बताए । क्यानका कार्यवाहक सचिव दूर्गाराज पाठकले भने, “सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्नेछन् । अब उनी विश्वकप छनोट सकेर नै फर्किनेछन् । उनको साधारण तारिख असार २९ गते तोकिएको छ ।”

यसअघि, पेसीकै कारण सन्दीप नेपाली टिमसँगै विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जान पाएका थिएनन् । सन्दीपविरुद्धको बलात्कार मुद्दामा गएको मंगलबार पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको थिएन ।

गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर