Aamsanchar

अझै केही दिन तराईका जिल्लामा तातो हावा र लू चल्ने सम्भावना

Author Image
सोमवार, जेठ २२, २०८०

काठमाण्डाै – तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।

बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अधिकतमसँगै न्यूनतम तापक्रम समेत बढिरहेकाले गर्मी धेरै भएको छ । अझै केही दिनको मौसम यस्तै रहने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद् अधिकारीको सुझाव छ ।

यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

घाम चर्किएको बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे छाता ओड्न वा टोपी लगाउन डाक्टर प्रेम पाण्डेको अनुरोध छ ।

यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन डाक्टरको सुझाव छ ।

गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्राे भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान डाक्टरको सल्लाह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर