Aamsanchar

काँकडभिट्टा नाकामा आलु र प्याजको आयात कम, नेपाली कृषक आशावादी, उपभोक्ता मारमा

Author Image
आइतवार, जेठ २८, २०८०

मेचीनगर । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतीय बजारबाट तरकारी र फलफूलको आयात कम भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाको जनाएको छ । बजेट भाषणपछिका १२ दिनमा तरकारी तथा फलफूलका १० वटा गाडीमात्र नेपाल प्रवेश गरेका छन् । यसअघि दैनिक ७ देखि ९ वटा यस्ता मालवहाक सवारी साधन नेपाल आउने गरेको कार्यालयका प्राविधिक सहायक चन्द्रेश्वर ठाकुरले जानकारी दिए ।
खासगरी, यो नाकाबाट अत्याधिकरुपमा आयात हुने आलु र प्याज बजेट भाषणपछि निक्कै कम छ । १२ दिनको अवधिमा यो नाका भएर २/२ सय मेट्रिक टन आलु र प्याज नेपाल आयात भएको प्राविधिक सहायक ठाकुरले बताए ।

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेटले उपभोक्ताको भान्सा महँगिने सम्भावना बढेर गएको छ भने पूर्वीनाकाबाट आलु र प्याजको आयात कम हुदैँ गएको छ ।

सरकारले बजेटमार्फत बोडी, सिमी, प्याज, सागपात, आलु, कोसे तरकारी, केराउ, पालुंगोलगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेको छ । त्यस्तै फलफूलतर्फ स्याउ, एभोकाडो, किबी फ्रुट, श्रीफल, अमिलो चेरी, स्ट्रबेरी, हलुवावेदलगायत फलफूलमा पनि भ्याट लगाउने घोषणा गरिएको छ । फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/२०७९ मा काँकरभिट्टा नाका भएर ७ करोड ३५ लाख ६९ हजार रुपैयाँ मुल्य बराबरको ९ सय ९४ मेट्रिक टन र अघिल्लो आर्थिक वर्ष २०७७/२०७८ मा ३ करोड ४३ लाख ७० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ७ सय ३० मेट्रिक टन प्याज नेपालले खरिद गरेको थियो । चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भएपनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको छ । भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको छ ।

आलु भारत, बंगलादेश, भुटानलगायतका मुलुकबाट आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँबाट भित्रिएका आलु राजधानीसहित भैरहवा, विराटनगर, बीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको कार्यालयकोे भनाई छ ।

सरकारले विगतमा तरकारी तथा फलफूलसहित अन्य करिब पौने दुई सय वस्तुको आयातमा भ्याट छुट दिएको थियो । अहिले बजेटमार्फत ती वस्तुमा दिँदै आएको छुट हटाइएको छ । अर्थमन्त्री महतले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी मूल्य अभिवृद्धि करका १ सय ७० र अन्तः शुल्कका ३ सय ४० छुटका दर खारेज गरेका छन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेटमा कतिपय कृषिजन्य सामग्रीको भन्सार दर बढाउने र कतिपय वस्तुको आयातलाई निषेध गर्ने योजना अघि सारे लगत्तै भारतबाट त्यस्ता सामग्रीको आयात घटेका कारण बजारमा अभाव देखिने र मूल्य बढ्ने सक्ने भएकाले सार्वसाधारणको भान्सा महँगिने हो कि भन्ने आशंका बढेको छ ।

तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन व्यवसायीहरुले माग गरेको काँकरभिट्टाका एकजना तरकारी व्यवसायीले बताए । नाम नलेख्ने शर्तमा उनले भने —‘ थोक विक्रेताले अहिले आलु र प्याज आयात गर्न नै छाडेका छन् हामीले आफै थोरै थोरै भारतीय बजार पुगेर ल्याउने गरेका छौ त्यस कारण पनि तत्काल मूल्यबृद्घि भएको छैन् । व्यवसायीहरुको माग सरकारले सुनेन् भने उपभोक्ताको भान्सा महगिँने छ । ’

तर, अर्का एकजना तरकारीको आयात निर्यात गर्दै आएका व्यपारीको यसमा भिन्नै धारणा छ । अहिले तरकारीको सिजन कम हुर्दै गएकाले आयात घटेको उहाँको तर्क छ । ‘थोरै असर त सरकारले प्रस्तुत गरेको बजेटले पनि पार्यो ’ उहाँले भन्नुभयो— ‘सरकारले भ्याट घोषणा गर्ने साथ बजारमा तरकारी र फलफूलको मूल्य बढ्न सक्छ । त्यसतर्फ पनि सरकारले नियन्त्रणमा पनि ध्यान दिनुपर्छ।’

तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि महँगी बढन् सक्ने उपभोक्ताको भनाई छ । मुलुकमा व्यापार घाटा ठुलो भएको र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात निरुत्साहन गर्न कृषिजन्य वस्तुमा कर लगाउनु परेको डाक्टर महतले बजेट भाषणमा बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर