Aamsanchar

दाङमा वृक्षारोपण सुरुवातः यो वर्ष तीन लाख बिरुवा रोपिने, बिरुवा निशुल्क पाइने

Author Image
बिहिवार, असार १४, २०८०

दाङ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी सुशील वैधको प्रमुख आतिथ्यता एक औपचारिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वैधले नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सबैलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो वर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताउनुभयो । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उहाँको भनाई थियो । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको जानकारी दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिक वन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डाँगी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधिक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाल लगायतकाले बोल्नु भएको थियो । सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईँको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।

वैज्ञानिक पार्कमा पनि वृक्षरोपण
घोराही उपमहानगरपालिका वडा नं १ मा रहेको आधारभूत विद्यालय सिमलतारामा डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिएको वैज्ञानिक पार्कमा पनि राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरूका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमा लगायतको बिरुवा हुर्काएर हराभरा गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफूहरूले वन तथा वातावरण संरक्षणमा ध्यान दिएकै कारण हरियाली बढेकाका कारण अनेत्र गर्मी र पानीको हाहाकार हुँदा पनि आफ्नो वडामा त्यसको अनुभूति नभएको वडाध्यक्ष पाण्डेयको भनाई थियो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले वैज्ञानिक पार्कलाई सिकाइको थलोका रुपमा विकास गर्ने गरी कार्यालयले काम गरिरहेको बताउनुभयो ।

बसन्त हरियाली क्षेत्रमा पनि वृक्षारोपण
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानीमा रहेको निर्माण भएको पोखरी र निर्माणाधीन पिकनिक स्पट परिसरमा वृक्षारोपण गरिएको छ । वन समूहका अध्यक्ष पदम योगीको सभापतित्व एवं डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष मधुसुदन घिमिरेले वन तथा वातावरणको संरक्षणका लागि वडाले योजना नै बनाएर अघि बढेको बताउनुभयो । कार्यक्रमको सहजिकरण वन समूहका कार्यालय सचिव बलदेव अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर