Aamsanchar

चिकित्सा क्षेत्रलाई पर्यटनमा जोडन नेपाल टुरिजम वोडको प्रयत्न,  बिर्तामोडमा सम्पन्न हेल्थ टुरिजम प्रोमोसन प्रोग्राममा चार दर्जन स्टल 

Author Image
शनिवार, असार १६, २०८०

बिर्तामोड । चिकित्सा क्षेत्रलाई पर्यटन सँग जोडने उद्देश्यले नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ आयोजना भएको छ ।
नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आज (शनिवार) ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ भएको हो ।

हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईँले गरेकी हुन् । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, स्वास्थ्यकर्मी लगायतको बाक्लो सहभागिता रहेका थियो ।

कार्यक्रमले स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत बिभिन्न सरोकारवालालाई फाइदा पुग्ने आयोजकले अपेक्षा गरेको छ । होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले पारेका थिए ।

बिर्तामोडको आदर्श ब्याङ्क्वेटमा भएको कार्यक्रमले व्यापारका अवसरहरू विकास गर्ने र साझेदारी गठन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले भारतीय बिरामीहरूलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वातावरण बनाउने उद्देश्य समेत राखेको छ । हेल्थ टुरिजम प्रमोसन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन व्यवसायीहरूले आ–आफ्ना व्यवसाय प्रवर्द्धनका सामग्रीसहित ४७ वटा स्टलहरू राखेका थिए ।


कार्यक्रममा दुई चरणमा प्यानल डिस्कसनको कार्यक्रम पनि राखिएको थियो । क्रस बोडर टुरिजम सम्भावना र चुनौती विषयमा डिस्कसन भएको थियो । डिस्कसनमा भारतको तर्फबाट हिमालय हस्पिटालिटी एण्ड डेभलपमेन्ट नेटवर्कका सदस्य ओसम लेप्चा, इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर अपरेटर अफ एशोसियसनका सदस्य सुब्रतो मजुमदार त्यसैगरी नेपालको तर्फबाट उद्योग वाणिज्य महासंघ कोशी प्रदेश पर्यटन तथा हवाई समिति संयोजक भविस श्रेष्ठ र नेपाल टुरिजम वोडका प्रबन्धक सूर्य थपलियाले डिस्कसनमा भाग लिएका थिए । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरज कट्टेलले सहजीकरण गरेका थिए भने प्रश्न कर्ताको रुपमा पत्रकारहरु मोहनकाजी न्यौपाने, बिनोद पाण्डे, र राजकुमार ओलीले प्रश्न गरेका थिए ।

त्यसैगरी स्वास्थ्य र पर्यटनलाई कसरी सँगै लान सकिन्छ भन्ने विषयमा नेपाल टुरिजम वोडका सञ्चालक सदस्य कृष्ण शाह, पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादव, होटल एशोसियसन अफ कोशी प्रदेश (हान) का अध्यक्ष राजन श्रेष्ठ र दृष्टिआँखा अस्पतालका डाक्टर अजितको सहभागिता रहेको थियो । उक्त सेसनमा सहजीकरण पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए ।
कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, चिकित्साकर्मी र सञ्चारकर्मीसमेत सहभागिता रहेको थियो ।  उद्घाटन कार्यक्रमको सञ्चालन नाटा कोशी प्रदेशका महासचिव नवीन खरेलले गरेका थिए ।

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्ता सिटी हस्पिटल, कनकाई हस्पिटल, बिर्तामोड आँखा अस्पताल, मेचीनगरको मेची नेत्रालय, ललगायतका सङ्घसंस्थाको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महतरा, नेपाल टुरिजम वोडका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मी, होटल एशोसियसन अफ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ, उद्योग वाणिज्य महासंघ कोश प्रदेश पर्यटन तथा हवाई समिति संयोजक भवेश श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा इलामका गरी १६ वटा होटल, झापाका २४ वटा हस्पिटल तथा क्लिनिक, होटल  तथा पर्यटन कलेज १–१ वटा, किताब स्टल १, सहकारी १ आयुर्वेदालय १ र मिजाज काडोमम उद्योगको तर्फबाट स्टल राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर