सल्यान : श्रीनगर-खलंगा सडकखण्डमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् मीना पुन।
अटो चलाउन थालेपछि मीनाको दैनिकी फेरिएको छ। बिहानको घरधन्दा सकेर हतार हतार अटो लिएर बजार निस्किनु उनको दैनिकी बनेको छ। उनले परम्परागत सोचाइ अन्त्य गर्दै जिल्लामै पहिलो महिला अटो चालक भएर आफ्नो जीविका चलाउँदै छिन्।
महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोच फेर्न र आर्थिक उपार्जनका लागि अटो चलाउनु परेको उनको भनाइ छ। उनले भनिन्, ‘सुरुमा त आफैंलाई पनि अटो चलाउन सकिँदैन कि जस्तो लागेको थियो। गाउँघर समाजले के भन्लान् भन्ने पनि सोच आएको थियो। आर्थिक रूपमा म सबल हुनुपर्छ भन्ने सोच आएपछि हिम्मत गरेर अटो चलाउन थालेकी हुँ।’
पुनको माइती सल्यान शारदा नगरपालिका-१० पैयाँखर्क हो भने घर रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट हो। श्रीमान्ले अर्की विवाह गरे भारततिर लागेपछि १ छोरा र २ छोरीको लालनपालनदेखि शिक्षादीक्षा दिनेसम्मको जिम्मेवारी मीनाको काँधमा आयो। छोराछोरी हुर्काउन र पढाउन अटो चलाउन थालेको उनको भनाइ छ। उनले भनिन्, ‘घरको मूलीले नै छोडेर गएपछि बाध्यताले पनि कुनै न कुनै काम गर्नुपर्दो रहेछ।’
मीना ३ वर्ष वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया समेत पुगिन्। तीन वर्षको अवधिमा कमाएको पैसाले श्रीमान्ले लगाएको ऋण र आफू मलेशिया जाँदाको ऋण तिरेको उनले बताइन्। ‘विदेशमा पनि राम्रै कमाइ भएको हो। श्रीमान् र आफू विदेश जाँदा लागेको ऋण तिर्न सकेँ। विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्छु भन्ने सोच पलाए पनि स्वदेश फर्किएकी हुँ’, उनले भनिन्।
विदेशमा गर्ने श्रम र पसिनाभन्दा स्वदेशमै अटो चलाउन निकै सहज भएको उनले बताइन्। उनले भनिन्, ‘महिनामा ३० देखि ३५ हजारसम्म कमाइ हुन्छ। विदेशमा पनि त्यस्तै आम्दानी हुने हो। विदेशमा पनि स्वदेश बराबरको आम्दानी हुन्छ भने किन विदेश किन जानुपर्यो।’
अटोको कमाइले मीनालाई खानेबस्ने दुःखले घेर्न छाडेको छ। अटो किन्दाको केही किस्ता चुक्ता गर्न बाँकी छ। विगतमा श्रीनगर खलंगामा रुटमा अटो धेरै हुँदा यात्रु नपाउने समस्या र अहिले इन्धनको मूल्य बढ्दा समस्या भने रहेको उनको भनाइ छ।
अहिले अटोको संख्यामा कमी आए पनि इन्धनको मूल्य अधिक हुँदा कहिलेकाहीँ खर्च उठाउन पनि मुस्किल हुने पुनले बताइन्। आफ्नो कामप्रति खुशी हुँदै उनले अरू महिलाहरूलाई पनि समाजले के भन्ला भनेर नबस्न आग्रह गरिन्। उनले भनिन्, ‘समाज भनेको नै तपाईं हामी हौँ। समाजले के भन्छ भन्दा पनि समाजलाई कस्तो बनाउने भन्ने हात सबैको हुने भएकाले समाजको डर होइन समाज रूपान्तरणमा हामी सबै लाग्नुपर्छ।’