बर्दिबास- नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।
यस पटक भने बजारमा असारदेखि साउन दोस्रो सातासम्म तामा देखा नै परेन । साउन १५ पछि मात्र बर्दिबास हाटमा तामाको पसल देखा परेको थियो । साउनको अन्तिम शनिबारे हाटमा चार महिला र एक पुरुष गरी पाँच जनाले मात्र तामाका पसल थापेका थिए । ती पसलमा पनि पहिले झैँ पर्याप्त मात्रामा चाना र मुना देखिँदैनथे ।
बजारदेखि करिब २६ किमी उत्तर सिन्धुली सीमासँग जुटेको बर्दिबास–१० स्थित बेताल गाउँबाट तामा बेच्न आएकी सीता तामाङले यसपाला बाँसका भ-याङमा मुना नै नआएपछि पहिले झैँ तामाको बजार नलागेको बताउनुभयो । उहाँका अनुसार तामा उत्पादनका लागि अनुकूल मौसमी प्रणाली आवश्यक पर्छ । कमसेकम जेठतिर झमझम पानी प-यो भने असारदेखि बाँसले मुना दिन थाल्छ र तामा निकालिन्छ ।
“यसपालि साउन १६ सम्मै पानी परेन, खडेरीले गर्दा बाँसले नयाँ टुसा पनि नहालेपछि समयमा तामा बेच्न पनि नसकिएको हो,” सीता तामाङले बताउनुभयो । उहाँसँगै तामा बेच्न आएका छिमेकी वीरसिंह वाइबाका अनुसार समयमा वर्षा नहुँदा तामा सङ्कलन पनि असहज भएको छ । गत वर्ष गाउँको छेउछाउमै सजिलै तामाका टुसा पाइन्थे । अहिले तीनै बाँसका भ-याङ त छन् तर नयाँ मुना पलाएको देखिँदैन । उहाँले गत वर्ष पाँच क्विन्टलजति तामा बेचेको स्मरण गर्नुभयो ।
“शुक्रबार बिहानदेखि साँझसम्म भिरपाखा चहार्दा २० किलो जति पनि पुगेन,” वाइबाले भुइँमा थापेको पसलमा तामाको मुना औँल्याउँदै भन्नुभयो । उहाँका अनुसार सबै बाँसबाट तामा उत्पादन हुँदैन । तामा निकालिने बाँस अन्य काममा प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो । फोस्रे, ढुङ्ग्रे र चाउ बाँसका तामा स्वादिलो हुन्छ । अरू बाँसको तामा तितो टर्रो हुन्छ । वातावरण विज्ञका अनुसार पनि वर्षा र तामाबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । कोटेश्वरस्थित काठमाडौँ फरेस्ट्री कलेजका एसोसिएट प्रोफेसर डा. रामअश्वेश्वर मण्डलले बाँस वा वनस्पतिको जीवनचक्र पनि मौसमी क्यालेन्डरसँग जुटेको हुन्छ । मौसमी अनुकूलता बिथोलियो भने बोटबिरुवाको वृद्धि, विकास र प्रजनन काल पनि प्रभावित हुने उहाँले बताउनुभयो ।
“मुना पलाउने बेला बाँसलाई पनि पर्याप्त भोजन चाहिन्छ । भोजन प्रकाश संश्लेषणको माध्यमले बन्छ । प्रकाश संश्लेषणका लागि पानी आवश्यक हुन्छ । समयमा पानी नपर्दा आवश्यक भोजन नपाएपछि नियमित समयमा र पहिले झैँ बाँसका भ-याङमा तामाका टुसा नआएको हुन सक्छ,” उहाँले भन्नुभयो ।
बर्दिबास–३ स्थित कारेघोप्टे वन उपभोक्ता समितिले भूक्षय नियन्त्रण र तामा उत्पादनको उद्देश्यले रातु नदी प्रणालीको चुरे क्षेत्रमा गत वर्ष लगाएको ‘कुलमी राइजिङ’ प्रजातिका दुई हजार बाँसका बिरुवा पनि खडेरीको चपेटामा परेको जनाएको छ । समितिका अध्यक्ष रमेश खत्रीका अनुसार रोपिएकामध्ये करिब पाँच सय बाँसका बिरुवा सुक्खाले गर्दा मरिसकेका छन् । बाँचेका बोटमा पनि वर्षा अभावले सोचेजस्तो मुना नपलाएको उहाँले बताउनुभयो । “आउँदो वर्ष यी बिरुवाबाट व्यावसायिक रूपमै तामा उत्पादन गर्ने लक्ष्य थियो तर खडेरीले एक त बाँस मर्न थाले, बाँचेकाको पनि राम्रो वृद्धि विकास नभएपछि सोचे जस्तो तामा उत्पादन हुनेमा शङ्का छ,” उहाँले नैराश्य प्रकट गर्नुभयो ।