Aamsanchar

कनकाईका कर्मचारीद्वारा पेनडाउन, अत्यावश्यक सेवा भने नरोक्ने

Author Image
मङ्गलवार, असोज २३, २०८०

कनकाई । स्थानीय तह कर्मचारी संघर्ष समितिद्वारा कनकाईमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प पारेर धर्नामा बसेका  छन् ।  केन्द्रिय आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन अनिश्चित कालका लागि सेवा बन्द (पेनडाउन) गरेर विरोध स्वरूप धर्नामा उत्रिएको नगर संघर्ष समितिकी संयोजक जमुना कटुवालले जानकारी दिनुभयो ।

सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला देशभर ७ सय ५३ वटै स्थानीय तहका कर्मचारीहरू असोज १६ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन। त्यसैको विरोधमा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन् ।

संसद्‌मा पेस गर्न तयार गरिएको विधेयकमा स्थानीय तहका प्राविधिक तथा अप्राविधिक कर्मचारीहरूको हित प्रतिकुल भएको र स्थानीय तहका कर्मचारीको वृद्धि विकास, हक, सेवाको सुरक्षा, सरुवा र बढुवा लगायतका विषय समेटिएको छैन । ‘यी र यस्ता विषय बस्तु समेटेर संघीय निजामती ऐन जारी गर्न हामीले सरकारलाई दवाव दिने हो,’ संयोजक कटुवालले भन्नुभयो । ‘विगत लामो समयदेखि निजामती सेवा ऐनको अभावको कारणले गर्दा वृद्धि विकास र आफ्ना विभिन्न आधारभूत अधिकारबाट समेत बञ्चित भएका कारणले कर्मचारीको हकहित र अधिकार खोज्न समिति गठन गरिएको नगर संघर्ष समितिकी संयोजक कटुवालले बताउनुभयो । संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरू कर्मचारी मैत्री नभएको भन्दै संसद्‌मा पेश हुन लागेको विधेयक स्थानीय तहका कर्मचारीको हकहित विपरित भएकोले संशोधन हुनुपर्ने माग राखेर  देशभरका पालिका प्रमुखरअध्यक्ष, उपप्रमुख र उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएर नै यस्तो कदम चालेको बताइएका छन् ।

यसअघि उक्त समितिले कनकाई नगर प्रमुख राजेन्द्रकुमार  पोखरेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई छुट्टाछुट्टै ध्यानाकर्षणको लागि ज्ञापन पत्र बुझाइएको संयोजक कटुवालले जानकारी दिनुभयो । संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने उनीहरूको माग छ ।
स्थानीय तह कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरूले समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था तथा कर्मचारी कल्याणकारी कोषको व्यवस्था लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

यता देशकै बन्द निषेधित नगर कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरूलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आग्रह गर्नुभएको छ । कर्मचारीहरूको मागप्रति आफू सकारात्मक रहेको र समाधान गर्ने कुरामा आफ्नो तर्फबाट लागिपर्नुका साथै सम्बन्धित निकायका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सेवाका आएका आम नागरिकको पिर मर्का बुझ्न आग्रह गर्दै कर्मचारीहरूको उचित मागको सम्बोधन गर्न आफू लागिपर्ने विश्वास दिलाउनुभयो।

त्यस्तै प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले आन्दोलनले कसैको फाइदा नहुने भन्दै सहकार्य र संवादबाट नै समस्याको समाधान हुने विश्वास दिलाउनुभयो। धर्ना कार्यक्रममा  नगर तथा वडाका  आधिकांश कर्मचारीहरूको  उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर