Aamsanchar

दाङ : यस पटक धान उत्पादन बढ्ने अनुमान

Author Image
सोमवार, कार्तिक ६, २०८०

दाङ – जिल्लामा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ। यस पटक गत वर्षको भन्दा कम क्षेत्रफलमा धान खेती भएको छ। पानीका कारण धान रोप्न ढिला भएको भएयता पनि रोपाइ भएदेखि निरन्तर पानी पर्दा, उन्नत जातको धानको खेती र यस पटक किसानहरूले मल सहज रुपमा पाउँदा विगत वर्षमा भन्दा केही प्रतिशत धान उत्पादन बढ्न कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ।

केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार करिब ५ प्रतिशत धान वृद्धि हुने अनुमान गरिएको छ। पानी समयमा नपर्दा धान रोपाइँ ढिला भएको भएयता पनि धान रोपेपछि निरन्तर वर्षा र उन्नत जातको धान रोप्दा र विगतका वर्ष भन्दा मल पनि सहज रुपमा पाइँदा धान उत्पादन बढ्ने उनले बताए। यस वर्ष जिल्लामा ३५ हजार १८४ हेक्टरमा धान खेती भएको छ।

जसमा १ लाख ५१ हजार २९१ मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको समेत उनले बताए। गत आर्थिक वर्षमा जिल्लामा ३७ हजार १३० हेक्टरमा धान रोपिएको थियो, भने १ लाख ५२ हजार २३३ मेट्रिक टन धान उत्पादन भएको थियो।

गत आर्थिक वर्षभन्दा यस पटक करिब २ हजार हेक्टर कममा धान खेती भएको छ। खेती योग्य जमिन घटेको भएयता पनि यस पटक राम्रो धान फलेको हुँदा उत्पादन बढ्ने अनुमान रहेको उनले बताए। धान उत्पादन राम्रो हुनुमा पहिलो नम्बरमा उन्नत जातको बिउ, गत वर्षको तुलनामा रासायनिक मलको सहज र पानी पनि निरन्तर पर्दा भएको समेत उनले बताए।

यस्तै उनले जिल्लाका केही ठाउँमा फड्के कीरा र गवारोको समस्या भएको भएयता पनि धान पसाउने बेला हुँदा त्यति असर नगरेको पनि बताए। उनले भने, ‘धान पसाउने बेलामा भएको भए। धेरै क्षति हुन्थ्यो होला। तर, धान पसाएर दूध पाकेको अवस्था हुँदा खासै क्षति भएन।‘ जग्गा प्लटिङले खेतियोग्य जमिन मासिँदै सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा खेतियोग्य जमिनहरू मासिँदै जानुको मुख्य कारण प्लटिङ गर्दा नै भएको हो।

यस्तै उनले अब फेरि जिल्लामा खेतियोग्य जमिन मासिने चिन्ता बढेको समेत बताए। प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्र भएको हुँदा प्रगन्ना सिँचाइबाट सिञ्चित भूमिहरू प्लटिङ भएर घडेरी हुने हुन् की रु भन्ने जोखिम त्यसमा देखिने समेत उनले बताए।

उनले यस्ता जमिनहरूमा राज्यले नीति बनाएर सिञ्चित हुने भूमिका प्लटिङ गर्न रोक्नु पर्ने बताए।

खेतमा राम्रो धान उत्पादन भएपछि खुशी

खेती गर्ने समयमा किसानहरूले सहज रुपमा कहिले पनि बिउ, मल, सिँचाइ पाउँदैन। तर, दुख मेहनत गरेर गरेको खेतीमा रोगले उत्तिकै सताउँछ। सरकारले दिन अनुदानको मल पर्याप्त नपाउँदा बजारमा पाइने अन्य मल प्रयोग गर्दा पनि धान राम्रो फलेको तुलसीपुर-१३ यमनारायणले बताए। उनका अनुसार यस पटक गत वर्षको भन्दा राम्रो धान उत्पादन भएको छ।

‘धानको खेती गर्दा पानी समयमा नपर्दा हामीहरू निकै चिन्तित भएका थियौँ। तर, त्यसमा पनि सरकारले दिने अनुदानको मल भने जति नपाएपछि हाम्रो सहकारीले अर्को कम्पनीको मल ल्याएको रहेछ। त्यही मल प्रयोग गर्दा त सुरुमा डर लागेको थियो। तर, धान राम्रो फलेपछि निकै खुशी भएका छौँ’, उनले भने।

यस्तै दंगीशरण गाउँपालिका १ रामपुरकी मिरा चौधरीले पनि यस पटक राम्रो धान उत्पादन भएको बताइन्।

उनले पनि कृषि सामाग्रीको मल नपाएपछि कृषि क्रान्ति नामक मल प्रयोग गरेको बताइन्। उनले भनिन्,‘ कृषि सामाग्रीको मल नपाएपछि सहकारीले ल्याएको कृषि क्रान्ति मल प्रयोग गरेका थियौँ। सुरुमा त शंका लागेको थियो। तर, अहिले धान राम्रो फलेको छ।’

यस्तै उनले खेतबारीमा राम्रो उत्पादनको लागि बिउ, मल , पानी र गोडमेल भएपछि मात्र हुने समेत बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर