सिराहा । कतिपय ठाउँमा रुढीवादी परम्परा अनुसार अछुत र लाजको रुपमा लिइएको महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया महिनाबारीलाई समाजमा खुलेर कुरा गर्न र महिनावारीबाट हुनसक्ने स्वास्थ्य समस्यालाई रोक्न अभियानकै रुपमा सुरुभएको महिनाबारी जनचेतना कार्यक्रम देशका विभिन्न स्थानमा आयोजना भएको छ । त्यस्तै आज मिथिला युवा समाज कल्याणले महिनाबारी सचेतना तथा स्यानिटरी प्याड वितरण गरेर महिनाबारी बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सिरहा जिल्लाको लगाढी गढियानी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा गाउँका दुई सय भन्दा बढी महिलाको उपस्थितिमा कार्यक्रम आयोजना भएको मिथिला युवा समाजका संस्थापक शत्रुधन साहले जानकारी दिए ।
उनले भने ‘ गाउँको महिलाहरूलाई महिनावारीको जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्न सफल भएका छौ । गाउँमा अहिलेको २१ औ शताब्दीमा पनि महिनाबारीको चेतना अधिकांशमा नरहेको अवस्था छ, त्यसैले हामीहरूले यस कार्यक्रम आयोजना गरेका हौं । हामीले उपस्थित महिलाहरूलाई स्यानिटरी प्याडको महत्व उजागर गर्दै वितरण समेत गरेका छौ ।’
कार्यक्रममा संस्थाका अध्यक्ष सुनील यादव ,वडाका अध्यक्ष रामचन्द्र यादव, पत्रकार र बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तिहरूको उपस्थिति रहेको थियो । स्त्री रोग विशेषज्ञ डा. देवकान्त साह, जेनेरल मेडिसिन विशेषज्ञ डा. सितेश साहले जनचेतना मूलक कार्यक्रमको परामर्श गरेका थिए।
संस्थाका सचिव सुनील शाहका संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन विकास झा ले गरेका थिए ।